प्रभावशाली मिडफिल्डर इभान राकेटिचको हलिउड फिल्मको जस्तो ‘प्रेम कथा’

इभान राकेटिच

बार्सा नेपाल । सन् २००५ देखि व्यवसायीक फुटबल खेल्न थालेका क्रोयसियन मिडफिल्डर इभान राकेटिच बार्सिलोनाका प्रभावशाली खेलाडी हुन् । उनलाई बार्सिलोनाले सन् २०१४ मा सेभियाबाट भित्र्याएको हो । बार्सिलोनाबाट १३० भन्दा बढी खेल खेलिसकेका उनले २१ गोल पनि गरिसकेका छन् भने उनी बार्सा आएपछि क्लबले ४ वटा ला लिगा, ४ वटा कोपा डेल रे, १ वटा स्पेनिस सुपर कप, १ च्याम्पियन्स लिग, १ युइएफए सुपर कप तथा १ वटा फिफा वल्र्ड कप जितिसकेको छ । राकेटिचको बारेमा हामीले खेलका अन्य समाचारहरु भने प्रकाशित गरिहेका हुन्छौं तर, आज उनको प्रेम कहानीको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौं ।

मसँग इंग्लिस फिल्मको जस्तै एउटा कथा छ । रोमान्टिक कमेडी । तर, यो साँचो कथा हो । यसरी सुरु हुन्छ कथाः एउटा क्रोएसियन केटो जब स्पेनमा बारभित्र पस्यो ‘

यो सन् २०११ को कथा हो । त्यतिबेला म २१ वर्षको थिएँ । जर्मनीबाट रातको १० बज्दा स्पेनमा पुगेको थिएँ । म जर्मनीको ‘साल्क’ बाट खेलेको चार वर्ष भएको थियो । स्पेनमा सेभिल्लामा अनुबन्धित हुन आएको थिएँ । अर्को दिन बिहानै मैले सेभिल्ला क्लबमा अनुबन्धित हुनु थियो । त्यहाँ मेडिकल जाँचहरु गर्न बाँकी थियो ।

मेरो दाइ डेजन मसँगै आएको थियो । हामी एउटा होटलमा गयौँ । त्यहाँ क्लबका केही मान्छेसँगै खाना खायौँ । खै किन हो त थाहा भएन, तर खाना खाएपछि म अलि नर्भस भएको थिएँ । यसैले आज निदाउन नसक्ने भएँ भन्ने मलाई लागेको थियो ।

मैले दाइलाई भनेँ, ‘अलिकति रक्सी खाउँ अनि सुत्न जाम्ला ‘

यही ६ शब्दले मेरो जीवन परिवर्तन गरिदियो ।

किनकी त्यस होटलको बारमा रक्सी दिन बसेकी केटी ‘ अहो ! के कुरा गर्नु साह्रै राम्री । फिल्ममा ठीक यति नै बेला हो, सबै कुरा स्लो मोसनमा देखाउँछन् । तपाइँले बुझ्नुभयो होला, उनी अति राम्री ।

मैले मनमनै भनें, ल ठीक छ । सेभिल्ला, गजव नै लाग्यो यो ठाउँ त ।

तर, मैले उसँग केही भन्न सकिनँ । हेलो मात्र भनेँ । मलाई स्पेनिस आउँदैन थियो । जर्मन, इंग्लिस, इटालियन, फ्रेन्च र क्रोयसियन बोल्थें, तर स्पेनिस फिटिक्कै नआउने । साह्रै अप्ठेरो थियो ।

यसैले दाइ र म चुप लागेर त्यहाँ बसिरहेका थियौँ । एउटा ठूलै युरोपियन क्लबबाट मेरो लागि कसैले दाइलाई फोन र्गयो । उनीहरुले म सेभिल्ला आएको थाहा पाएका रहेछन् । यसैले उनीहरु तुरुन्त प्लेन पठाउने र मलाई फर्काएर आफ्नो क्लबमा अनुबन्धित गर्ने बताइरहेका थिए ।

हामीले सेभिल्लासँग औपचारिक सम्झौता गरिसकेका थिएनौँ । स्पेनमा आउनु मेरा लागि ठूलो कदम थियो । अनि अर्को अर्थमा केही चुनौती पनि । नयाँ देश, नयाँ भाषा । न कसैलाई चिनेकै छ । अनि जुन टिमले मेरो लागि प्लेन पठाउने कुरा गरिरहेको थियो, त्यहाँ अलि सजिलो थियो ।

त्यसपछि दाइले मलाई सोध्यो, ‘भन के गर्ने हो ?’

मैले उसलाई भनें, ‘अँ ‘ मैले त सेभिल्लाको अध्यक्षलाई हुन्छ भनिसकें त । अनि मेरो बोली कुनै लिखित सहमतिभन्दा ठूलो छ ।’

उसले भन्यो, ‘ल ठीकै छ म तिनीहरुलाई नहुने भयो भनिदिन्छु ।’

मैले बारमा त्यो केटी बसेतिर देखाएर भनें, ‘त्यो वेटरलाई देखिस् ? म यहीँ सेभिल्लामा खेल्न चाहन्छु, अनि त्यो केटीसँग बिहे गरेर बस्न चाहन्छु ।’
कुरो सुनेर दाइ हाँस्यो । उसले भन्यो, ‘ल ठीक छ तैंले जे भन्छस् ।’

मैले मजाक गरेको जस्तो सोचेर उसले त्यसो भनेको थियो ।

उनी हाम्रो नजिकै आइन् र सोधिन्, ‘तपाइँहरुलाई अरु केही चाहिन्छ ?’

मैले दाइसँग भनें, ‘तिमीलाई थाहा छ ? म अझै अलि नर्भस महसुस गरिरहेको छु । एक पेग अरु पनि खाऔँ है । अनि सुत्न जाम्ला ।’

अर्को दिन बिहान मैले सेभिल्लासँग सम्झौता गरेँ । अर्को घर नपाउञ्जेल म त्यही होटलमा तीन महिना बसेँ । त्यसैले हरेक बिहान त्यो केटीलाई हेर्न पाइयोस् भनेर होटलको बारमा जान्थें । कफि सफि यस्तै केही मगाएर खान्थें । कहिलेकाहीँ ओरेन्ज फेन्टा पनि मगाएर खान्थें ।

यति दिनसम्म उसको बारेमा थाहा पाएको भनेको त्यही नाम थियो, रकेल । उनलाई इंग्लिस बोल्न नआउने, मलाई स्पेनिस नआउने । यसैले हरेक दिन कफि र फेन्टा अर्डर गर्नुभन्दा बाहेक उनीसँग केही कुरा हुँदैन थियो ।

यो कुरा कसरी बुझाउन सक्छु मलाई थाहा छैन । कहिलेकाहीँ, कसैलाई भेटिन्छ अनि भित्र कुछ कुछ हुन्छ नि ।

जब जब म उनलाई देख्थें, भित्र मनमा कतै बम बर्सिरहेको जस्तो हुन्थ्यो । यसरी नै हप्तौँ बित्यो । मलाई अलि अलि स्पेनिस आउन थालेको थियो ।

म उनलाई आफ्नो कुरा बुझाउन हातले संकेत गर्थें । उनलाई त्यो हाँसउठ्दो लाग्थ्यो होला । के गर्दै छ यो केटो भन्या जस्तै उनले मलाई हेर्थिन् ।
म यति धेरै कफि मगाएर खान्थें कि त्यो कुरा हाँसो उठ्दै हुन्थ्यो । कफि कति खानु ।

मैले उनलाई धेरै पटक यसो बाहिर जाम न भनेर आग्रह गर्थें ।

उनी नाई कहिल्यै भन्दैन थिइन् । जान पनि कहिले जाँदैन थिइन् । हरेक पटक उनीसँग एउटा बहाना हुन्थ्यो । यता काम छ, बाहिर निस्कन मिल्दैन, काम सकेपछि कोठामा गैहाल्नुपर्छ ।

त्यस्तै दिन बितिरहँदा तीन महिनापछि म आफ्नै घरमा सरें । त्यो बेला मलाई एकदमै नरमाइलो भएको थियो । अब त सबै सकियो जस्तै लागेको थियो । तर, मैले हार मानिनँ । फुर्सद हुनेबित्तिकै कार लिएर बजारतिर जान्थें र उनको होटलमा पसेर कफि मगाई हाल्थें ।

उनी होटलमा नभएको दिनमा फुत्त अर्कोतिर निस्किन्थें । उनी छिन् भने बसेर कफी मगाएर खान्थें । यसले मलाई दिनभर खुशी मिल्थ्यो ।

त्यसपछि मेरो स्पेनिस अलि अलि राम्रो भएको थियो । यसैले हामी अलि अलि कुरा गर्न सक्ने भएका थियौँ । म जतिबेला पनि स्पेनिस टिभी हेर्थें, स्पेनिस रेडियो सुन्थें । म भाग्यमानी हो, नयाँ भाषा सिक्न सक्ने खुबी चाहीँ ममा राम्रै रहेछ ।

एकदिन रकेलले मसँग बाहिर जान किन मिल्दैन भनेर आफ्नो कुरा भनिन् । ‘तिमी त फुटबल खेल्ने खेलाडी, आज यहाँ छौ अर्को वर्ष कहाँ पुग्छौँ । माफ गर्देउ तर अहँ हुँदैन ।’

यसो सोचेँ, म यो संसारको ठूलो मान्छे कोही पनि त हैन । मैले राम्रो खेल्न सकिनँ भने अर्को वर्ष त मलाई सेभिल्लाले बेच्दिन्छ भन्ने लाग्यो ।यसबाट मैले राम्रो खेल्ने प्रेरणा पनि पाएँ ।

सेभिल्लामा अभ्यास गर्दा पनि बढो ध्यानपूर्वक गर्थें । प्लेइङ ११ मा परेर राम्रो खेल देखाउनु पर्छ भन्ने मलाई लागेको थियो । त्यसो गर्न सकें भने म सेभिल्ला मै रहनेछु र त्यो केटी मसँग खाना खान निस्किन तयार हुनेछिन् भन्ने लाग्यो ।

झण्डै सात महिना लाग्यो । मेरो मोबाइलमा एउटा म्यासेज आयो, ‘उनी उनको दिदीसँग बसेर होटलमा खाइरहेकी छिन्, काम गरेकी छैनन् ।’

यो म्यासेज कसले पठाएको थियो त्यो भने म भन्दिन । तर, यतिबेलासम्म मैले त्यो केटीलाई मन पराउँछु भन्ने बारेमा शहरमा धेरैले थाहा पाएका थिए । यसैले बारकै कसैले मलाई म्यासेज गरिदियो ।

मैले मेरो एउटा साथीलाई बोलाएँ र हामी होटलमा गयौँ । त्यहाँ म रकेलकै छेउको सिटमा बसेँ । मैले भनें, ‘ए तिमी काम नगरी फुर्सदमा पो छौ । ल आज त मिल्ला नि बाहिर खाना खान ।’

उनी अचम्ममा परिन् । हुन्छ भन्नु न हुन्न भन्नुको दोधारमा थिइन् उनी ।

मैले भनें, म आज यसै फर्किन्न है । मलाई थाहा छ तिमी तिम्रो दिदीसँग छौ । केही हुन्न, हामी सबै जना जाऔँ खाना खान ।
त्यसपछि हामी सबैजना बाहिर गयौँ ।

भोलिपल्ट बिहानको खाना खाने बेला हामी भेट्यौँ । त्यसदिनदेखि हामी सँगै छौँ । ६ वर्ष भयो । हाम्रो दुई राम्री छोरीहरु पनि भएका छन् ।
उनलाई आफ्नो बनाउन गरेको काम मेरो जीवनकै कठीन काम थियो । च्याम्पियन्स लिग जित्नभन्दा कठीन । अनि समय पनि त्यति नै लाग्यो ।

पहिलो पटक उनको परिवारसँग भेटेको क्षण पनि निकै रमाइलो छ । त्यो समय म स्पेनिस बोल्न अलि अलि अभ्यस्त नै थिएँ । तर, त्यति नै बेला त्यहाँ ठूलो परिवारको अघि ‘ ए भगवान ! उनीहरु यति छिटो बोल्थे । अनि बोल्ने शैली पनि भिन्दै थियो ।

उनको बुवा मसँग रमाइलो कुराकानी गर्न खोजिरहनु भएको थियो । तर मरिजाउँ उहाँले के भन्नु भएको हो मैले केही बुझेको थिइनँ । म यसो उहाँहरुलाई हेर्थे र हाँस्ने बेला भयो भन्ने लागेपछि हाँसिदिन्थें ।

मैले केही बुझेको छैन भन्ने उहाँले बुझ्नुभएको रहेछ । यसैले उहाँले भन्नुभयो, ‘मलाई दुईरतीन महिना समय देउ तिमी सबै बुझ्ने हुन्छौँ ।’

सेभिल्लाका मानिसहरुमा यही गुण थियो । उनीहरु एकदम खुला हृदयका छन् । बाहिरी मान्छेलाई सजिलै परिवारमा घुलमिल गराइहाल्छन् ।

रमाइलो कुरो त के भने, मेरो श्रीमतीलाई फुटबलको केही वास्तै थिएन । मैले सोचेको थिएँ, उसको परिवार पनि त्यस्तै होला । तर, भिन्न रहेछ ।

उनीहरु सेभिल्लाको ठूलो समर्थक थिए । मैले उनीसँग भेट्नु अघि नै उनको हजुरबाको देहान्त भइसकेको थियो । ससुराले सुनाउनुहुन्थ्यो, बुवा पनि सेभिल्लाको ठूलो समर्थक थिए ।

उहाँ जीवनको अन्तिम अन्तिम समयमा जब अस्पतालमा भर्ना हुनुभएको थियो । नर्सले उहाँको सबै लुगा फुकालेर अस्पातालकै गाउन लगाइदिन लागेकी थिइन् ।

सबै लुगा फुकाल्दासम्म उहाँले केही भन्नु भएन रे । तर जब हातको घडि झिक्न लागिन् उहाँ मान्नुभएनछ । घडि सेभिल्लाको रहेछ यसैले उहाँले मर्ने अन्तिम समयमा आफूलाई सेभिल्लाबाट पर नलैजान आग्रह गर्नुभएछ ।

मलाई लाग्छ एउटा फुटबलरको जीवनमा के भइरहेको हुन्छ भन्ने मानिसहरुले उस्तो बुझ्दैनन् । अन्तर्वार्ता लिँदा पनि खेल, प्रशिक्षक, लक्ष्य, चुनौती, खेलशैलीका विषयमा मात्रै प्रश्नहरु गरिन्छ । उनीहरु प्राय मैदानबाहिर खेलाडीको जीवनबारे खासै प्रश्न गर्दैनन् ।

मेरो लागि त मैदानमा जति हुन्छ त्यति नै बाहिर भएको कुराले पनि खेलमा असर गर्छ । ६ वर्षको समयमा म स्वीट्जरल्याण्डबाट जर्मनी त्यहाँबाट स्पेन आएँ । यसैले लगभग सबैजसो अवस्थाहरु बुझ्न पाएँ । बसेल र साल्कमा पनि म राम्रै खेलाडी थिएँ । तर, केही छुटिरहेको छ भन्ने लाग्थ्यो ।

जब मैले रकेलसँग भेटें । मलाई लाग्यो, मैले राम्रो खेल्नको लागि एउटा प्रेरणा पाएँ । त्यसपछि मेरो फुटबल करिअर अर्कै उचाइमा पुग्यो ।

सेभिल्लामा हाम्रो निकै राम्रा वर्षहरु बिते । सन् २०१३ मा म सेभिल्लाको कप्तान चुनिएँ । म्यारोडोनापछि विदेशी खेलाडी कप्तान बनेको मै थिएँ । यो मेरा लागि ठूलो कुरा थियो । अनि मेरो श्रीमतीका लागि पनि किनकी उनको हजुरबा सेभिल्लाका कति ठूला समर्थक थिए ।

मेरो विगतले गर्दा पनि यो मेरा लागि ठूलो कुरा थियो । मेरो बुवाआमा क्रोयसियाबाट स्वीट्जरल्याण्ड जानुभएको थियो । बोस्नियन युद्धका कारण हुन सक्ने खतरालाई हेरेर उहाँहरु सर्नुभएको थियो । म स्वीट्जरल्याण्डमै हुर्किएँ । त्यो बेला मेरो आइडल रोबर्ट प्रोसिनेकी थिए । उनी क्रोयसियाका स्टार । उनले स्पेनमा रियल मड्रिड, बार्सिलोना र सेभिल्लाबाट खेले ।

धेरै समय मेरो परिवार क्रोयसिया र्फकन सकेन । म स्वीट्जरल्याण्डमै हुर्किरहेको थिएँ । म सात वर्षको हुँदा हजुरबा र हजुरआमा भेट्न क्रोयसिया गएका थियौँ । यसैले स्वीट्जरल्याण्डकै साथीहरु बीच हुर्किरहँदा मलाई प्रोसिनेकी र राष्ट्रिय टिमबाहेक अरु थाहा थिएन ।

मेरो आमा मलाई कथाहरु सुनाउनुहुन्थ्यो । म विद्यालय जान थालेको तीन चार दिनपछि घर आएर आमासँग भनें, ‘म अब जाँदिन पढ्न । म खेल्छु बस्छु । अझै कति वर्ष मैले यसरी पढ्न जानुपर्छ ?’

उहाँले भन्नुभयो, ‘नौ वर्ष ।’

मैले भनें, ल ठीक छ । नौ वर्ष । त्यसपछि भने म एक दिन पनि जाँदिन है त ।

नभन्दै त्यस्तै भयो । १७ वर्षको उमेरमा बसेलबाट मैले व्यावसायिक फुटबल खेल्न थालिसकेको थिएँ । मेरो सपना एकदम प्रष्ट थियो, मलाई रोबर्ट प्रोसिनेकी बन्नु थियो । ऊ जस्तै स्पेनमा गएर खेल्नु थियो । यसैले सेभिल्लाको कप्तान बन्दा मलाई धेरै कुराले खुशी दिएको थियो ।

सन् २०१४ मा जब बार्सिलोनाले मलाई ल्याउन चाहृयो, यो अलि फरक अनुभव थियो । मेरो ससुरालि खलक मलाई सेभिल्लामै बसोस भन्ने चाहन्थे । उनीहरुलाई यो पनि थाहा थियो कि, खेल जीवनमा ठूलो क्लबमा जाने मौका एकपटक मात्रै आउँछ । यसैले अन्तिममा उहाँहरु मेरो निर्णयमा राजी हुनुभयो ।

यो एकदमै कठीन समय थियो । बार्सिलोनाले दिने पैसाले गर्दा सेभिल्ला पनि मलाई पठाउन तयार देखियो । राम्रो अवस्थामा छाड्न पाउँदा मलाई पनि खुशी नै लाग्यो । किनभने मेरो पूरै जिन्दगी सेभिल्लामा आएपछि परिवर्तन भएको थियो ।

मेरा सुसुराले त्यो समय भनेका थिए, ‘ल ठीकै छ । बधाई तथा शुभकामना । तर, सेभिल्लाविरुद्ध खेल्दा भने समर्थन गर्न सक्दिन है ज्वाईं । माफ गर्नुहोला ।’

बार्सिलोनामा खेल्ने पनि सानो हुँदाकै सपना हो । मैले पहिलो दिन बार्सिलोनामा जब प्रस्तुतीकरण देखाउनु थियो, म ड्रेसिङ रुममा गएँ । त्यहाँ फुटबल बुट हेरेर दंग परेँ । लाग्यो, यो एउटा बुट मात्रै होइन, बार्सिलोनाको बुट हो । मेरो शरीरका सबै रौं ठाडा भएका थिए ।

एउटा फुटबलर भएर चाहने भनेको खेल जित्ने र उपाधि आफ्नो पक्षमा पार्ने नै हो । तर, बार्सिलोनामा त्यति मात्रै छैन । यहाँ भिन्न छ । अरु सबै ठूला क्लबहरुप्रति मेरा सम्मान छ । तर, बार्सिलोना ‘ यहाँ साच्चै क्लब मात्रै होइन अर्कै केही छ । बार्सिलोना शहरका मानिसहरु निकै विशेष छन् ।

विश्वकै उत्कृष्ट खेलाडीहरुसँग खेल्न पाउँदा म धन्य भएको छु । उदाहरणका लागि मेस्सी । उनको खेलको प्रतिभा विश्वले नियालिरहेको हुन्छ ।

अभ्यासको बेला उनले जे गर्छन् मैदानमा गर्नेभन्दा ५० औँ गुणा बढी हुन्छ । मलाई त्यो रमाइलो लाग्छ । फुटबलको समर्थक भएका हिसाबले पनि मलाई मेस्सीले गरेको हरेक कुरा हेर्दा रमाइलो लाग्छ ।

मेस्सी मात्रै होइन, जाभी, स्वारेज, इनिएस्टा, पिके सबै नै राम्रो छन् । उनीहरु सबैको खेलमा एक किसिमको आफ्नै लय छ । एउटा ठूलो मेसिन जस्तै । जब तपाइँ मेसिनको स्वीच अन गर्नुहुन्छ, त्यसभित्रका पाटपूर्जा के गर्नुपर्ने हो खरर आफ्नो काम गर्न थाल्छन् ।

टिभीमा खेल हेर्नु, बार्सिलोनाको विरुद्ध खेल्नु र मैदानमा बार्सिलोनबाटै खेल्नुमा हुने बुझाइ निकै फरक छ । यदि बार्सिलोनामा तपाइँलाई फुटबलमा रमाइलो लाग्दैन भने तपाइँलाई फुटबल नै मन पर्दैन ।

मेरा लागि हरेक दिन फुटबल खेलिरहँदा खुशीको क्षण हुनेछ । त्यसमै सन्तुष्टी मिल्छ । १० वर्षअघि आफ्नो सपना बाँच्नका लागि मैले स्वीट्जरल्याण्ड छाडेँ । त्यो सपना अहिले यहाँ बार्सिलोनामा आइपुगेको छ, यसमा खुशी छु । मलाई आशा छ बार्साको जर्सीमा अझै धेरै वर्ष रहनेछु ।

बार्सिलोनामा सुरुमा आउँदा मैले स्पेनिस बोलेको देखेर यहाँ धेरै दंग परेका थिए । यसले मलाई मैदान बाहिर पनि साथीहरुसँग घुलमिल हुन सहज भयो । यो सबै मेरो श्रीमतीले गर्दा सम्भव भएको हो । उनैले मलाई सबै कुरा सिकाइन् । उनकै साथले धेरै उपाधि र सफलता पनि पाइरहेको छु ।

हाम्री ठूली छोरी चार वर्षकी भइ । बार्सिलोनामा मान्छेहरु फुटबललाई कति माया गर्छन् भन्ने उनले पनि बुझ्न थालेकी छिन् । हामी कहिलेकाहीँ अनुमान गर्छौं, छोरी म जस्तै फुटबलमा रमाइलो मान्ने हुन्छे कि आमा जस्तै फुटबल वास्तै नहुने हुन्छे होला । ठीक अहिले भने उनी आमा र बुवा दुबैको बिचमा जस्तै छिन् ।

म घरमा बसेर टीभीमा फुटबल हेरिरहँदा यदि कसैले गोल गर्यो भने छोरीले भन्छिन्, ‘ नाई बाबा, तपाइँले पनि गोल गर्नु पर्छ !’ त्यो गोल मेसी या स्वारेज जसले गरेको भए पनि उनलाई चित्त बुझ्दैन । उनकै बाबाले गर्नुपर्छ ।

‘नाई बाबाले गोलको पास मिलाएर मात्र हुँदैन, गोल बाबाले गर्नुपर्छ ।’ यसैले म सक्दो मेहनत गरिरहेको छु कि गोल गर्न सकुँ । सायद यसबारे म मेसीसँग पनि कुरा गर्छु । हाहा ।

(प्लेयर्स ट्रिब्युनमा प्रकाशित इभान राकेटिच लेखको नेपाली अनुवादन)

सपनाको क्लब बार्सिलोना आउँदा टेर स्टेगनको यस्तो सुखः दुखः (बर्थ डे स्पेशल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here