‘ब्राजिलले विश्वकप जितेमा म केही पनि बोल्ने छैन तर रोइरहेको हुनेछु’

ड्यानी आल्भेज

बार्सा नेपाल । जब मेरो घुँडामा दुखाइ महसुश भयो, मेरो आत्मा शरीरदेखि बाहिर निस्किए जस्तै लाग्यो । त्यही क्षण मैले बुझेको थिएँ, रसिया जाने विश्वकपको प्लेनमा मेरा लागि ठाउँ हुने छैन ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का डाक्टरहरुले मलाई के भएको हो भन्ने थाहा पाउन केही परीक्षणको नतिजा पर्खनुपर्ने बताएका थिए । तर, त्यसैबेला मलाई मनमा लागेको थियो, सबै कुरा सकियो ।

सबैजना ट्रफीसँगै खुशीयाली मनाइरहेका थिए । यसैले मनमा लागे पनि कुनै नकारात्मक भावना साथीहरुको अगाडि देखिएला भनेर सचेत भएँ । यदि तपाइँ ड्यानी आल्भेजलाई चिन्नुहुन्छ भने, ऊ सधैँ मस्त तालमा खुशी रहने मान्छे हो । त्यसैले त्यहाँ पनि म खुशी देखिन रमाइलो गर्न खोजिरहेको थिएँ । तर, सबैजनाले मेरो आँखामा हेरेर केही अप्ठ्यारो परेको छ भन्ने बुझेका थिए ।

त्यो बेला म एक्लै हुँदा एकपटक मात्र रोएँ । अनि एउटा कुरा तपाइँलाई भनिहालुँ, मेरो दुःखमा अरुले दुःख मानिदिउन्, रोइदिउन्, साथ दिउन् भन्ने कहिले पनि लाग्दैन ।

म आफ्नो सपना बाँचेको छु । डानी अल्भेस यो पटक विश्वकपमा जाने छैन । तर पनि, उही आफ्नै पुरानो पारामा खुशी रहने छ ।

म बालक हुँदा जसरी ब्राजिलले विश्वकप खेलेको हेर्थें, यसपटक ठीक त्यसरी नै हेर्नेछु । उही पुरानो खेतमा बसेर हेरेजस्तै गरी । फरक त्योबेला भन्दा अहिले मेरो टीभी अलि ठूलो छ ।

म ब्राजिलको राष्ट्रिय टिममा १२ वर्षसम्म रहेँ । यसपटक सबै रुपमा ब्राजिलको टिम निकै बलियो लागेको छ । संगठन, संरचना, विचार र अरु सबै कुरामा पनि टिम मजबुत बनेको छ ।

टिममा पुराना र नयाँ खेलाडीको राम्रो मेलमिलाप भएको छ । जिसस र कोटिन्होजस्ता उम्दा युवा खेलाडीसँगै गएको विश्वकपमा दुःखद स्थितिको सामना गरेकाहरु पनि छन् । उनीहरु त्यो अवस्था बिर्साएर ब्राजिलमा विश्वकप ल्याउन लाग्ने छन् ।

म आफूलाई ‘भेट्रान’ खेलाडी भन्न रुचाउँदिन । तपाइँले पनि देख्नुभएको होला, मेरो मनस्थिति १३ वर्षको केटाको जस्तै छ । कसलाई थाहा छ र १ म सन् २०२२ को विश्वकपमा पनि टिममा पर्नका लागि मेहनत गरिरहेको हुन सक्छु । त्यो बेला उमेरले म ३९ वर्षको पुग्नेछु, तर मेरो यही ऊर्जाले त्यो समय म बल्ल १७ को हुनेछु ।

मैले मेरो टिमका साथीहरुलाई पटक पटक सुनाएको एउटा कुरा तपाइँलाई पनि सुनाउँछु ।

ब्राजिलले विश्वकप जितेमा, म चिच्याउने छैन । सत्य भनेको, डानि एल्भेसको मुखबाट एक शब्द पनि निस्कने छैन । म केही पनि बोल्ने छैन तर रोइरहेको हुनेछु

जब हामी बार्सिलोनाबाट सन् २०१५ को च्याम्पियन्स लिगमा थियौं, धेरै मानिसले हाम्रो क्षमतामा शंका गरेका थिए । त्यो बेला खेलाडीको रुपमा टिमका सबैमा एक(अर्काप्रति हामी सक्छौं भन्ने विश्वास भने थियो ।

जब हामीले फाइनलमा युभेन्टसलाई हरायौं, अन्तिम सिटी बज्नेवित्तिकै म सिधैँ बार्सिलोनामै रहेका ब्राजिलियन खेलाडी एर्डियानो भएको ठाउँमा दौडिएर गएँ । मैले उसलाई हेरेँ, उसले मलाई हेर्‍यो । अनि हामी चिच्याउन थाल्यौँ । साँच्चै नै चिच्याउनुबाहेक अरु के गर्ने हामीलाई थाहा थिएन । अर्कै खुशी मिलेको थियो ।

उम्‘ पछि टीभीमा त्यो फुटेज हेर्दा भने ‘के गरेको होला मैले’ जस्तै लागेको थियो । त्यो एकदम हाँस्यास्पद लागेको थियो । तर, हामीले त्यो समय त्यो बाहेक अर्को केही गर्न सकेनौं । त्यो यस्तो पुरानो आवेशबाट बाहिरिएको समय थियो, जुन म बुझाउनै सक्दिनँ ।

त्यो समय कस्तो लाग्छ त ? लाग्छ हामी बच्चा जस्तै हौँ । जस्तो कि एक शब्द पनि बोल्न सक्ने स्थिति छैन । मात्र चिच्याउन सकिन्छ ।

यदि यसपटक ब्राजिलले विश्वकप जितेमा, म चिच्याउने छैन । सत्य भनेको, डानि एल्भेसको मुखबाट एक शब्द पनि निस्कने छैन । म केही पनि बोल्ने छैन तर रोइरहेको हुनेछु ।

(ड्यानी आल्भेज बार्साका पूर्व खेलाडी हुन् । हाल उनी फ्रेन्च क्लब पीएसजीमा रहेका आबद्ध छन् ।)
प्लेयर्स ट्रिब्युनमा प्रकाशित ड्यानी आल्भेजको लेखको नेपाली भावानुवादन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here