रुस विश्वकपमा मेसी र रोनाल्डोकाे हत्या गर्ने आईएसआईको धम्की

बार्सा नेपाल । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा हत्या गर्ने धम्की दिएको समाचार प्रकाशित भएको छ ।

बेलायती पत्रिका द सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको हातमा बेकेका दुई युवा देखिएका छन्।

त्यसको अगाडि ‘योर ब्लड विल फिल द ग्राउन्ड’ ‘तिम्रो रगतले मैदान भरिनेछ’ लेखिएको छ। सिरिया, इराक लगायतका क्षेत्रमा सक्रिय आईएसआई समूहले विश्वकपको पूर्वसन्ध्यामा दिएको धम्कीले आयोजक रुसमाथि खेलाडीको सुरक्षालाई लिएर चुनौती थपेको छ। आईएसआईले बुधबार मात्रै यो फुटेज सार्वजनिक गरेको हो ।

यसअघि पनि उक्त समूहले मेसीको हत्या गरेको फुटेज सार्वजनिक गरेको थियो ।

आईएसआईले केही समयअघि आफ्ना समर्थकलाई लक्षित गरी रुस विश्वकपका क्रममा खेलाडीहरूलाई आक्रमण गर्न आह्वान गरेको थियो। उनीहरूले त्यस बेला चक्कुले विश्वकपको लोगोलाई प्रहार गरेको र फ्रान्सेली भाषामा ‘सबैलाई मार’ लेखिएको पोस्टरसहित विश्वकपमा कसैलाई पनि आक्रमण गर्न आफ्ना समर्थकमाझ आह्वान गरेका थिए।

आईएसआईले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको थियो। ‘उनीहरूले पुटिनले यसको मूल्य चुकाउनुपर्नेछ’ लेखिएको पोस्टर सार्वजनिक गरेका थिए। आईएसआईले सिरियामा आफूहरूविरुद्ध कारबाहीमा उत्रिएका राष्ट्रपति बसर अल आसदलाई सहयोग गरेकाले मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको जनाइएको छ।

रुसले भने आफूहरू खेलाडीको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। गत महिनामात्रै रुसले शंकास्पद ११ विद्रोहीलाई मारेको जनाएको थियो।

१८ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here