सपनाको क्लब बार्सिलोना आउँदा टेर स्टेगनको यस्तो सुखः दुखः (बर्थ डे स्पेशल)

मार्क आन्द्रे टेर स्टेगेन

बार्सा नेपाल । सन् २०१४ मा ब्रोसिया मोन्चेनग्लाडबचबाट जम्मा १२ मिलियनमा बार्सिलोनामा स्थानान्तरण भएका जर्मन गोल किपर मार्क आन्द्रे टेर स्टेगन अहिले विश्वकै उत्कृष्ट गोलकिपर बनेका छन् । सन् १९९२ अप्रिल ३० मा जर्मनीको मोन्चेनग्लाडमा जन्मिएका उनी बार्सिलोना आएपछि क्लबले ३ वटा ला लिगा, ४ वटा कोपा डेल रे, १ स्पेनिस सुपरकप, १ यूरोपियन च्याम्पियन्स लिग, १ यूरोपियन सुपरकप तथा १ क्लब वल्र्डकपको उपाधि जितिसकेका छन् । उनी जर्मन क्लबाट कसरी बार्सिलोना भित्रिए भन्नेबारेमा हामीले एक सामग्री प्रस्तुत गरेका छौं ।

म ‘ब्रोसिया मोन्चेनग्लाडबच’ बाट सन् २०१४ मा बार्सिलोना जाँदै थिएँ । त्यो निर्णय मेरा लागि ठूलो थियो । मेरो परिवार र मेरो क्लब मेरा लागि सम्पूर्ण विश्व थियो । म कसरी छाड्न सक्छु ? तर, दुई कारणले गर्दा म बार्सिलोना जान तयार भएँ ।

पहिलो, पक्कै पनि उनीहरुले खेल्ने तरिका देखेर । मलाई कहिलेकाँही सोच आउँदा बार्सिलोना जानको लागि चाँही ‘मोन्चेनग्लाडबच’ छाड्न सक्छु होला भन्ने लाग्थ्यो । उनीहरुको खेल्ने तरिका मन पथ्र्यो । किपरसँग पनि उनीहरु धेरै बल पास खेल्दै मिलाउँथे । मेरो खेल्ने तरिका पनि त्यस्तै थियो ।

अनि दोस्रो कारण चाहीँ पछि बनेको हो । जब मैले एन्डोनी जुबिजारेटासँग भेटेँ ।

मलाई मेरो एजेन्टले भनेको कुरा याद छ, ‘बार्सिलोना तिमीसँग पहिले कुरा गर्न चाहन्छ । उनीहरु पहिले तिम्रो आनिबानी बुझ्न चाहन्छन् । तिमी मान्छे कस्तो छौ भनेर बुझ्न खोजेका छन् ।’

उनीहरुले मलाई भेट्न जुबिजारेटा पठाउने सोचेका थिए । उसलाई भेटेपछि मेरो निर्णयमा कस्तो प्रभाव पर्छ भन्ने मलाई थाहा थिएन । उनी आए । हाम्रो कुरा भयो । हामीबिच एकदमै सामान्य रुपमा कुराकानि भयो ।

उनको स्वभाव प्राकृतिक थियो । उनले मसँग क्लबको इतिहास र आफ्नो अनुभवहरुको बारेमा कुरा गरे । म नयाँ क्लब, नयाँ शहरमा जाँदा कस्तो अनुभव हुन्छ भन्नेबारे सबै कुरा बुझाए । बार्सिलोनाको खेलाडी हुनु भनेको के हो भन्ने कुरा पनि उनले बताए । उनी एकदमै गजवका सामान्य मान्छे हुन् ।

उनकै कुराले म यति प्रभावित भएँ कि बार्सिलोनामा जानै पर्छ भन्ने लाग्यो । मलाई बेला बेला मानिसहरुले भनेको याद हुन्छ, ‘मार्क टेर स्टेगेन ? त्यो त गमक्क पर्ने खालको मान्छे छ ।’ यो कुरा उनीहरुका लागि आंशिक रुपमा सत्य नै हो ।

किनभने म जर्मन हुँ । तर मलाई थाहा छ म कसरी यहाँ पुगेको छु । अनि यो मानिसहरुले मलाई कसरी बुझुन् भन्ने कुरा पनि होइन ।

गर्वका साथ मैले आफूमा बार्सिलोनाको रंग भरेँ । उनीहरुको जर्सी लगाएँ । यो मेरा लागि फुटबल मात्र थिएन । यो शहर, यहाँका समर्थक । यहाँ कहिले पनि लाग्ने छैन कि आफू एक्लै छु । एक्लै हुनै मिल्दैन । यसमा कस्तो प्रभाव हुन्छ भन्ने मात्र होइन । यो भन्दा भिन्न रुपमा तपाइँ जानै सक्नु हुन्न । तपाइँ यसलाई आफसेआफ बुझ्न सक्नु हुन्न ।

म बार्सिलोना आउँदा सुरुमा सबै कुरा आफैले बुझिनँ । म मुस्किलले स्पेनिस बोल्न सक्थेँ ।

मलाई याद छ, पहिलो पटक म चेन्जिङ रुममा जाँदा म एकदमै खुशी भएको थिएँ । त्यसबेला नै मसँगै बार्सिलोनाले इभान राकेटिचलाई पनि अनुबन्धित गरेको थियो । राकेटिचलाई जर्मन बोल्न आउँथ्यो अनि सेभिल्लामा खेलिसकेको भएर स्पेनिस पनि राम्रै आउँथ्यो ।

बार्सिलोनामा गएको पहिलो महिना राकेटिच मेरा लागि अनुवादक नै बनेका थिए । उनी मैले प्रश्न गर्दा बुझाइदिन्थे । प्रशिक्षकले मलाई भनेका कुराहरु पूरै नबुझ्दा पनि सम्झाइदिन्थे ।

अनि राफिन्हाले पनि मलाई धेरै मद्धत गरे । उनी र म दुबै इंग्लिस बोल्थ्यौँ । पछि हामीले स्पेनिस नै बोल्न थाल्यौँ । उनले यहि सिजनको सुरुमा बार्सिलोना छाडे । हामी राम्रो साथी हौँ ।

म स्पेनिस राम्ररी नै बोल्न चाहन्थे । जसले मलाई मेरा साथीहरु राम्ररी बुझ्न मद्धत पुग्थ्यो । उनीहरुबारे अझ धेरै थाहा पाउन सजिलो हुन्थ्यो । त्यसैले मैले आफ्नो पहिलो दिनदेखि नै स्पेनिस भाषाको ज्ञान लिन थालेँ ।

हामी आफूलाई एउटा क्लब मात्रै हौइनौँ भन्छौँ । यहाँ म क्लबका लागि एउटा विज्ञापन बन्न खोजेको होइन । तर, यसबारे बुझ्ने एउटै मात्र तरिका छ । यहाँ केही अर्कै छ ‘ एकदमै भिन्न ।

जब मैले सन् २०१६ को च्याम्पियन्स लिगको समूह चरणको खेल तालिका हेरेँ । ब्रोसिया मोन्चेनग्लाडबच र बार्सिलोनाको खेल थियो । मलाई कस्तो–कस्तो, के–के अनुभव भयो । म त्यो कुरामा उति खुशी थिइनँ ।

त्यो घोषणा भएपछि मेरो मिल्ने साथीले म जर्मनी आउने भएँ भनेर म्यासेज पनि पठाएको थियो ।
त्यसपछि मैले सोच्न थालेँ । फेरि एकपटक सबैलाई आफ्नै घरमा भेट्न पाउने यो एउटा अवसर पनि हो । तर, मेरो पुरानो क्लबको प्रतिक्रिया के हुन्छ होला ? समर्थकहरुले के भन्लान् ?

अनि हामी जब त्यहाँ पुग्यौँ, सबै कुरा असाध्यै पारिवारिक थियो । म पाहुना पस्ने गेटबाट पहिलोपटक स्टेडियममा पसेको थिएँ । पहिलोपटक म पाहुना टोलीको कोठामा बसेको थिएँ । मैले आफ्नो सिनियर करिअरमा अनुभव नगरेको फरक कुरा अनुभव गर्दै थिएँ । वार्मअपको लागि मैदानमा जाँदा पनि बिर्सिएर म अर्को साइडमा पुग्दो रहेछु । त्यसलाई सम्झेरै मैले सुधार गर्नु र्पयो ।

जब खेल सकियो, मैले यसो दर्शक बस्नेतिर हेरेँ । सबै समर्थक उठेर मेरो लागि तालि बजाउन थाले । यसले मलाई निकै भावुक बनायो । मेरा रौँ ठाडा भएका थिए । अनि मैले मेरो आँसु लुकाउन सकिनँ ।

म ब्रोसिया मोन्चेनग्लाडबचमा बसेको समय । १८ वर्ष । यो निकै लामो समय हो । यो मेरो जीवन नै हो । अनि समर्थक मलाई अझै यति मजाले स्वागत गर्दै थिए त्यसमा मलाई गर्व लाग्यो । त्यो रात मैदान छाड्दा मलाई निकै भिन्न महसुश भएको थियो ।

मोन्चेनग्लाडबच मेरा लागि सधैँ विशेष छ । मोन्चेनग्लाडबचले नै मेरो भविष्य निर्धारण र्गयो । हरेक बालकको क्याम्प नाउमा खेल्ने सपना मेरा लागि मोन्चेनग्लाडबचले नै पूरा गरिदियो ।

मलाई थाहा छ, केही मान्छेका लागि म ‘बार्सिलोनाका लागि जर्मन किपर मात्र हुँ ।’ तर अब उनीहरुले मलाई केही राम्ररी बुझे कि भन्ने लाग्छ ।

तपाईंलाई थाहा छ ? अझैसम्म मेरा हजुरबाले क्याम्प नाउमा आएर मेरो खेल हेर्नुभएको छैन नि । म उहाँलाई भनिरहेको हुन्छु तपाइँ आउनुपर्छ । एकदिन हजुरबा आउनुहुनेछ ।

क्याप नाउको अघि आलुको परिकार र केही खानेकुरा बोकेर बसेको बुढो मान्छे देख्नुभयो भने मेरा हजुरबा आउनुभएछ भन्ने तपाइँले पनि थाहा पाउनुहुनेछ ।

जन्मदिनकाे शुभकामना !

प्लेयर्स ट्रिब्युनमा प्रकाशित लेखबाट अनुवादित

३० अप्रिल २०१८ मा प्रकाशित

डायरियो स्पोर्टले टेर स्टेगनसँग गरेको कुराकानी जस्ताको त्यस्तै – मेसी भनेको मेसी नै हुन्, धन्न मैले उनीबिरुद्ध खेल्नु परेको छैन

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here