इनियष्टा पनि नचिन्नेले के फुटबलकाे गफ लाउनु !

निलेश अधिकारी

बार्सा नेपाल । केही महिनाअघिदेखि चलिरहेको बार्सिलोनाबाट आन्द्रेज इनियष्टाको स्थानान्तरणको चर्चाले संचारमाध्यममा प्राथमिकता पाएको थियो । शुक्रबार उनैले नै एक पत्रकार सम्मेलनको आयोजना गरेर बार्सिलोनामा यो सिजन आफ्नो ‘अन्तिम सिजन’ भनेपछि सबैभन्दा बढी मन बार्सा समर्थकहरुको दुख्यो । हुन पनि हो झण्डै २२ वर्षअघि बार्सिलोनामा आबद्ध भएका उनी सम्पूर्ण बार्सा फ्यानहरुको मुटुमा बस्न सफल छन् त्यति मात्रै होइन उनलाई बार्सिलोनाको चिरप्रपतिद्धन्द्धी रियल मड्रिडका अधिकारी तथा समर्थकहरुले पनि उत्तिकै रुचाउँछन् ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले त पत्रकार सम्मेलनमै इनियष्टाले बलोन डि‘ओर जित्नुपर्ने थियो भने । त्यस्तै रियलका समर्थकहरुले पनि इनियष्टाले बार्सिलोना छोड्ने भएपछि दुःख व्यक्त गरे । त्यस्तै, सामाजिक संजालमा एक रियल मड्रिडका समर्थकले इनियष्टाको लागि लेखेको चिट्ठीले पनि खुबै चर्चा पायो । उक्त चिट्ठीमा आफू रियल मड्रिडको समर्थक भए पनि सबैभन्दा बढी मनपर्ने खेलाडी इनियष्टा नै भएको कुरा उल्लेख गरेका छन् । खासमा इनियष्टाले बार्सिलोना छोड्नु रियल मड्रिड समर्थकको लागि खुसीको कुरा हो । उनले कयौं पटक रियल मड्रिडलाई बार्सिलोनालाई हराउने क्रममा उत्कृष्ट प्रदर्शन गरि रियलका समर्थकहरुको खुसी लुटेका छन् । तै पनि चिट्ठीमा उनको खुलेर प्रशंसा भएको छ ।

रियल मड्रिडमात्रै होइन स्पेनमा क्याटालोनियाकै क्लब भए पनि इस्प्यानियोल बार्सिलोनाको प्रगति देख्न नसक्ने क्लब हो । उक्त क्लबका समर्थक तथा खेलाडीहरुले पनि इनियष्टाप्रति उत्तिकै सम्मान व्यक्त गर्छन् । उनले एक वर्ष अघि ज्यान गुमाएका इस्प्यानियोलका कप्तान ड्यानी हार्केको स्मृतिमा लिखित सन्देश देखाउन आफ्नो जर्सी नै उतारे । त्यो क्षणबाट प्रश्ट हुन्छ उनी दुश्मन मानिएको टिमप्रति पनि कति इमान्दार छन् भनेर ।

बलोन डि‘ओरको आयोजक फ्रान्स फुटबलका सम्पादकले त झनै एक सम्पादकिय नै लेखेर उनलाई बलोन डि‘ओरको विजेता बनाउन नसकेकोमा आत्माग्लानी भएको कुरा उल्लेख गरे ।

बार्सिलोनाका पूर्व प्रशिक्षक तथा हालका म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले इनियष्टाबीना बार्सिलोनाले एकै सिजन ६ वटा ट्रफी जितेर राखेको रेकर्ड सम्भव नहुने प्रतिक्रिया दिएका थिए । विश्वकै उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसी बन्नुमा पनि इनियष्टाको ठूलो हाल त छ भनेर संचार सामग्रीहरु प्रकाशित भएका छन् । मेसीले पनि इनियष्टाको बारेमा सम्मान व्यक्त गर्दै उनी विश्व फुटबलको उदाहरण भएको प्रतिक्रिया दिएका छन् ।

उमेरले ३३ वर्ष पुगेका इनियष्टाले फुटबलमा जित्नुपर्ने सम्पूर्ण उपाधि जितिसकेका छन् । १६ सिजन सिनियर टिमबाट खेल्दा उनले ८ वटा लालिगा, ७ वटा सुपर कोपा, ६ वटा कोपा डेल रे, ४ वटा च्याम्पियन्स लिग, ३ वटा युइएफए सुपर कप तथा ३ वटा फिफा क्लब वल्र्डकप गरि कूल ३१ उपाधि जित्नमा ठूलो योगदान दिए । त्यस्तै, स्पेनलाई सन् २०१० मा विश्वकप तथा २००८ र २०१२ मा यूरोकप जिताउँदा उनी मुख्य खेलाडी थिए ।

क्लबको लागि यतिका महत्वपूर्ण उपाधि जितको तथा जारी सिजनमा पनि ला लिगा उपाधि पक्का भइरहेको बेला उनी किन बार्सिलोना छोड्न लागेको भनेर उनले पत्रकार सम्मेलनमै भनिसकेका छन् । उनले आफूले क्लबलाई शारीरीक र मानसिक रुपमा शत प्रतिशत दिन नसक्ने भएको र क्लबले आफूभन्दा राम्रो खेलाडी राखोस् भनेर आफूले क्लब छोड्न लागेका बताएका छन् । तर, उनी बार्सिलोनाबिरुद्ध कहिल्यै नउत्रने बताएका छन् । यदि यूरोपियन क्लबहरुले आफूलाई भित्र्याउने प्रयास गरे केवल निराशा मात्रै भेट्ने उनको भनाई थियो । क्लबको लागि उनले ठूलो सम्मान व्यक्त गर्न अन्य खेलाडीहरु चुकेका हुन्छन् । तर, इनियष्टाको यो निर्णयले उनी मैदानमा मात्रै हाइनन् क्लबको लागि पनि कति इमान्दार तथा बफादार छन् भन्ने कुराको पुष्टि गर्छ ।

इनियष्टाले राष्ट्रिय टिम स्पेनबाट पनि सम्भवत विश्वकप पछि सन्यास लिनेछन् । उनले रसिया विश्वकपमा स्थान बनाउने सम्भावना यथावत नै छ । प्रशिक्षक जुलेन लोपेतेगुइले पनि इनियष्टा विश्वकपको लागि मुख्य खेलाडी बन्ने कुरा बताइसकेका छन् ।

२९ अप्रिल २०१८ मा प्रकाशित

लेखक निलेश अधिकारी बिगत ६ वर्षदेखि स्पेनको बार्सिलोनामा बस्दै आएका छन् ।

लेखकका पुराना सामग्रीहरु

ला लिगा कसरी विश्वको सबैभन्दा सर्वोत्कृष्ट लिग ? (विश्लेषण)

‘यसकारण बार्सिलोना फ्यान हुनुमा गर्व छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here