मेसी किन सदाबहार देखिन्छन् ? यस्तो छ कारण

बार्सा नेपाल । ३० वर्ष नाघेपछि हरेक खेलाडीहरुको खेल स्वभाविक रुपमा कमजोर हुँदै जान्छ । यो उमेरमा खेलकुदमा सक्रिय हुनेहरु चोट बोक्ने गर्छन् । तर, अन्तर्राष्ट्रिय फुटबल खेलाडीमध्ये केही यस्ता पनि छन्, जो बढ्दो उमेरसँगै अझ बढी चुस्त देखिन्छन् । त्यसमध्ये एक हुन्, अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी ।

मेसीको चुस्तता र खेलकौशल हेर्दा अहिले पनि उनी युवा खेलाडीजस्ता देखिन्छन् । उमेरले नेटो काट्दै गर्द पनि उनी कसरी फूर्तिला देखिए भन्ने विषयमा केही समयअघि पोषणविद् गुइलियानो पोसरले खुलासा गरेका थिए ।

उनले विश्वचर्चित खेलाडीको खान्कीको विषयमा स्पेनिस पत्रिकासँग कुरा गर्दै मेसीको खानपिनका विषयमा थुप्रै रोचक तथ्य सार्वजनिक गरेका थिए ।

इटालीका पोषणविद्ले सन् २०१४ देखि मेसीको खानपानमा नियन्त्रण गर्दै आएका थिए । त्यही बेलादेखि उनको फिटनेसमा परिवर्तन आएको थियो । गुइलियानोका अनुसार पर्याप्त पानी, राम्रो ओलिभ तेल, अन्न, फलफूल र हरियो तरकारीले बार्सिलोनाका स्टार स्ट्राइकरको शारीरिक क्षमतालाई ओजिलो बनाएको छ । मेसीलाई प्रोटिनयुक्त खानामा जो दिँदा गुलिया पदार्थबाट भने टाढा नै राखएिको छ । अधिक चिनीजन्य पदार्थले मांसपेशीमा खरावी गर्ने भएकाले गुइलियानो मेसीलाई गुलिया खानेकुरा बन्देज गरेका हुन् ।

थुप्रै खेलाडी प्रोटिनका लागि मासुलाई अत्याधिक महत्व दिन्छन् । तर, पचाउन गाह्रो पर्ने भएकाले गुइलिनोले मेसीलाई कम मासु खान सल्लाह दिँदै आएका छन् । पोषणविद्ले बनाएको नियम पालना गरेकै कारण आफ्नो स्वास्थ्यमा ठूलो परिवर्तन आएको मेसीले दाबी गर्दै आएका छन् ।

अन्तमुखी स्वभावका मेसीलाई पोषणविद्ले गुलिया खानेकुरामा कडाइ गरे पनि उनी भने गलिया खानेकुरा मन पराउँछन् । मेसी सानैदेखि गुलियो भनेपछि हुरुक्कै हुन्थे । गुलियो खानेकुराप्रतिको उनको आशक्तिलाई प्रशिक्षकले समते उपयोग गरे । मेसीले हरेक गोल गरेपछि प्रशिक्षकले उनलाई प्रोत्साहनस्वरुप गुलियो बिस्कुट दिने गर्थे । राम्रो खेल्ने लालसमा गुलियो बिस्कुटको आकर्षक थपिएपछि मेसी पनि गोल गर्न मरिमेटेर लागिपर्थे ।

खानाका पारखी मेसीको सबैभन्दा मन पर्ने परिकार बोनलेस मासुबाट बनेको इस्केलोप मिलानिज नामको अर्जेन्टिनी परिकार हो । आफू सानो छँदा आमाले हप्तामा दुईतीनपटक सो परिकार बनाउने गरेको मेसीले बताउने गरेका छन् । उनी स्पेनबाट अर्जेन्टिना जाँदा यो परिकार प्रायः छुटाउँदैनन् । मेसी फिट रहनुको अर्को कारण हो, नियमित व्ययाम । हरेक दिन दुईतीन घण्टा जिम हलमा बिताउने उनी त्यही कारण ‘फिट एण्ड फाइन’ खेलाडीको रुपमा चर्चामा छन् । उनी सन्तुलित भोजन, नियमित व्ययाम र प्रशस्त आराम गर्छन् । यी तीनको उचित व्यवस्थापनले नै मानिसलाई ‘फिट’ राख्ने मेसीको धारणा छ ।

२७ अप्रिल २०१८ मा प्रकाशित

इतिहासकै सबैभन्दा उत्कृट फुटबल खेलाडी मेसीबारे केही कुरा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here