सुध्रिएका स्वारेज !

बार्सा नेपाल । स्टार खेलाडी लुइज स्वारेज युरुग्वेका व्यवसायिक फुटबल खेलाडी हुन् । उनको पुरा नाम ‘लुइज अलबर्टो स्वारेज डियाज’ हो । युरुग्वे तथा स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनी विश्वकै टप स्ट्राइकरमा पर्छन् ।

सन् १९८७ को जनवरी २४ मा जन्मिएका उनी आयाक्स र लिभरपुल क्लबमा छदाँ निकै विवादमा रहेका थिए । उनले आफ्नो जीवनकालमा हालसम्म १४ वटा उपाधिहरु बार्सिलोना क्लबबाट जितेका छन् जसमा च्याम्पियन्स लिग र कोपा अमेरिका कपको उपाधि पनि सम्मिलत छन् । निकै खतरनाक स्ट्राइकरका रुपमा परिचित उनले युरोपियन गोल्डेन सुज, इरिडिभाइज गोल्डेन बुट र प्रिमियर लिग गोल्डेन बुट प्राप्त गरे । उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोकोे ६ वर्षदेखिको राज तोड्न सफल भए जब उनले ला लिगाको पिचीची उपाधि सन् २०१६ मा जित्न सफल भए । सन् २०१५ मा क्लब र देशका लागि ३०० गोल गरेका उनले सन् २०१७ मा आइपुग्दा यो संख्या ४०० पुर्याउन सफल भएका थिए ।

उनले आफ्नो फुटबल करिअर सन् २००३ बाट शुरु गरेका थिए । १९ वर्षको उमेरमा उनले नेदरल्याण्डको क्लब ग्रोनिनजेनबाट सुरु गरे । सन् २००७ मा उनी आयाक्समा आवद्ध भए । सन् २०१० मा उनले पहिलो उपाधि केएनभिबि कप जित्न सफल भए । त्यस सिजन उनी सर्वाधिक गोलकर्ता भएका थिए । अर्को साल आयाक्सले इरिडिभाइज उपाधि जित्न सफल भयो भने उनले आयाक्सका लागि १०० गोल गर्न सफल भए । सन् २०११ को जनवरीमा उनी लिभरपुल क्लबमा २० मिलियन पाउण्डमा अनुबन्ध भए । आएको सिजनमा नै उनले क्लबलाई लिग कप उपाधि जिताउन सफल भए ।

सन् २०१४ मा उनले पीएफए प्लेअर्स प्लेयर अफ दि एयर एफडब्लुए फुटबलर अफ दि एयर जित्न सफल भए । त्यस्तै प्रिमियर लिग गोल्डेन बुट समेत उनले जिते । क्रिस्टियानो रोनाल्डोसँग युरोपियन गोल्डेन सुज शेयर गर्न समेत सफल भए । सन् २०१४ मा नै उनी बार्सिलोना क्लबमा ८२.३ मिलियन युरोमा आवद्ध भए जसले गर्दा उनी महँगा खेलाडीहरुको सूचीमा समेत परे ।

इंलिस प्रिमियर लिगमा उनी धेरै जसो विवादमा रहे । कहिले म्यान्चेस्टर युनाइटेडका प्याट्रिस एभ्रालाई ‘काले’ भनेर प्रतिबन्धित भए त कहिले चेल्सीका मिडफिल्डर इभानोभिकलाई टोकेर प्रतिबन्धित भए । स्कोरिङ स्टाइल विश्वकै उत्कृष्टमा परेता पनि उनको स्वभावले पनि लिभरपुलले उनलाई बेच्न बाध्य भएको थियो । बार्सिलोना आएको पहिलो सिजन उनको लागि निकै सुखदायी रह्यो । उनले नेयमार र लियोनल मेसीसँग फ्रन्टलाइनमा खेल्ने मौका पाए । केही मिडिया रिपोर्टका अनुसार उनी बार्सिलोनाको पहिलो रोजाइको खेलाडी थिएनन् । बार्सिलोनाले म्यानचेस्टर सिटीका स्टाइकर सर्जियो अगुइरो ल्याउन खोजेको थियो । तर, नमिलेपछि त्यस समय जर्जियो चिलेनीलाई टोकेर प्रतिबन्धमा रहेका स्वारेजलाई जोखिम लिएर किन्यो ।

पहिलो सिजन विश्वकै उत्कृष्ट ती खेलाडी नेयमार, स्वारेज र मेस्सीले कुल १२२ गोल गरेका थिए । त्यस सिजन बार्सिलोनाले च्याम्पियन्स लिग, लालिगा र कोपा डेल रे उपाधि जित्न सफल भए जसले गर्दा प्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ठुलो दवाव परेको थियो । दोस्रो सिजन उनले पीचीची अवार्ड जित्न सफल भए । उनले दोस्रो सिजन क्लबका लागि ४० गोल गरेका थिए । उनले पाँच खेलमा १४ गोल गरेका थिए भने १६ एसिस्ट गरेका थिए । लालिगा इतिहासमा नै उनी यस्ता पहिलो खेलाडी थिए जसले सर्वाधिक गोल र एसिस्ट गरेका थिए ।

स्वारेज युरुग्वेका ‘अल टाइम स्कोरर’ हुन् । सन् २०१० को फिफा वल्र्डकपमा युरुग्वे चौथो भएको थियो जसमा उनले तीन गोल गरेका थिए । क्वार्टरफाइनलमा घानाविरुद्ध उनले हातले गोलपोस्टमा बल रोकेपछि रातो कार्ड खादै उनी बाहिरिएका थिए । तर, गोलरक्षकले पेनाल्टी रोकेपछि युरुग्वेले सेमिफाइनलको यात्रा तय गरेको थियो । सन् २०११ को कोपा अमेरिकामा स्वारेजले चार गोल गरेका थिए त्यस्तै युरुग्वेले पन्ध्रौं कोपा अमेरिका उपाधि जित्न सफल भएको थियो । उनी प्लेअर अफ दि टोर्नामेन्ट घोषित भएका थिए ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनले युरुग्वेका लागि ४० औं गोल गरेका थिए । तर, इटालीविरुद्धको खेलमा विपक्षी खेलाडीलाई टोकेपछि उनी लामो समय फुटबलका लागि प्रतिबन्धित भएका थिए ।

पहिलो विपक्षीलाई टोकेको घटना

सन् २०१० को नोभेम्बरमा स्वारेजले पिएसभीका खेलाडी अटम्यान बक्कलको पाखुरामा टोकेका थिए । आयाक्सले उनलाई त्यस खेलपछि दुई खेलका लागि प्रतिबन्ध गरेको थियो भने उनलाई फाइन पनि तिराउन लागेको थियो । डच डेली टेलिग्राफले कानिबल अफ आयाक्सको उपनाम दिएको थियो । केएनभिबीले स्वारेजको प्रतिबन्ध बढाउँदै सात खेल पुर्याएको थियो । पछि फेसबुकमार्फत उनले माफी मागेका थिए ।

शोषण गरेको आरोप

म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा प्याट्रिस एभ्रालाई रंगभेदी कुरा गर्दै उनी माथि शोषण गरेको आरोप स्वारेजमाथि लागेको थियो । एफए उनलाई ४० हजार पाउण्ड फाइन र ८ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

लिभरपुलले पछि एक वक्तव्य जारी गर्दै माफी मागेको थियो । फ्रेबअरीमा कमव्याक गरेका स्वारेजले पुन एभ्रासँग हात मिलाउन मानेनन् । पछि प्रशिक्षक र खेलाडी दुवैले माफी मागेका थिए ।

दोस्रो टोकाइ

सन् २०१३ को अप्रिल २१ मा भएको चेल्सी विरुद्धको खेल २–२ गोलको बराबरीमा सकियो । तर, खेल सकिनै लाग्दा स्वारेजले इभानोबिकको हात टोके । युकेका प्रधानमन्त्री डेबिड क्यामरुनले एफएलाई फोन गर्दै कडा कारबाही गर्न निर्देशन नै दिए । एफएले यसपटक उनलाई १० खेलमा प्रतिबन्ध लगाउने तथा फाइन तिराउन लगाउने निर्णय गरेको थियो । सन् २०१३ को मे ३१ मा उनले लिभरपुल छाड्ने तथा उक्त शहरमा उनलाई बस्न निकै कठिन भएको खबर बाहिर आएको थियो ।

सन् २०१३–१४ को सिजन लिभरपुलमा नै खेल्नु पर्ने अवस्था आयो । उनले पनि क्लबका लागि सानदार कमब्याक गरे । प्रिमियर लिगमा उनले सबैभन्दा धेरै गोल गरे । प्रिमियर लिगको उपाधि धन्नै जितेको लिभरपुल म्यानचेस्टर सिटीसँग २ अंकले मात्र पछि परेको थियो । च्याम्पियन्स लिगका लागि छनोट भएको लिभरपुलले स्वारेजलाई क्लबमा राख्ने निर्णय गरेको थियो तर, विश्वकपम भएको अर्को घटनाले बार्सिलोनालाई बेच्न बाध्य भयो ।

बार्सिलोना आएपछि सुध्रिएको छवि

बार्सिलोना आएपछि उनले सुधारिएको खेल प्रदर्शन गरे । उनको खेलमा लगातार नयाँपन देख्न बार्सिलोनाका फ्यानहरु सफल भए । धेरैलाई लागेको थियो बार्सिलोनामा उनी धेरै समय टिक्दैनन् । तर, सबैको आकलन बिफल पार्दै बार्सिलोनाको प्रमुख स्टाइकरमा उनी जमेर बसे ।

तीन सिजन उनले बार्सिलोनाका लागि उत्कृष्ट खेल प्रदर्शन गरे । यस सिजन पनि उनी उच्च फर्ममा रहेका छन् । बार्सिलोनाले नेयमार पिएसजीलाई बेचेपछि उनी र मेस्सीमाथि थप जिम्मेवारी परेको थियो । तर, नेयमारले क्लब छाडेपछि बार्सिलोना झन् बलियो भएको उसको अपराजित यात्राले पनि प्रमाणित गरेको छ । बार्सिलोना ला लिगामा यस सिजन २९ खेलमा अपराजित रहेको छ ।

१० वर्ष अघि म्यान्चेस्टर युनाइटेडको बसाईमा जेरार्ड पिकेको अवस्था बिजोग !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here