सेभियासँग बार्सिलोनाले बराबरी खेल्दाको ५ महत्वपूर्ण कुरा

बार्सा नेपाल । बार्सिलोनाले आइतबार बिहान (नेपाली समयअनुसार) सेभियाको घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्यो । बार्साले सेभियासँग राम्रो खेल खेल्न सकेन विशेष गरेर मिडफिल्ड कमजोर बन्दा डिफेन्सलाईन पनि कमजोर नै बन्यो । सेभियाको काउन्टर रोक्नको लागि डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केटको अभाव देखिन्थ्यो । यहाँ हामीले सेभियासँगको बराबरीबारे ५ कुरा प्रस्तुत गरेका छौं ।

मेसी किन स्टार्टिङ लाइनअपमा परेनन् ?

राष्ट्रिय टिमको खेल गुमाएका मेसी बार्साको अभ्यास खेलमा सहभागी भए । सेभियासँग खेल्ने १८ जान खेलाडीको सूचीमा पनि अटाए तर, प्रशिक्षक भालभर्डेले उनलाई बेन्चमा राखिदिएर ४–३–३ फर्मेसन खेलाईदिए । खेलमा २–० ले पछि परेको स्थितिमा मेसीलाई मैदानमा पठाइयो । मेसीले खेलमा असहज महशुस गरेनन् । यस्तो मेसी स्टार्टिङ लाइन अपमा किन परेनन् ? च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल नजिकिँदै गर्दा असहज स्थितिमा उनलाई किन मैदान पठाइयो यो प्रश्न भालभर्डेमाथि तेर्सिएको छ ।

बार्सिलोनाको डिफेन्स

सेभियासँगको खेलमा उम्टीटी र जेरार्ड पिकेको जमेको डिफेन्समा कमजोरी देखिएको छ । अझै विशेष गरेर उम्टीटीको प्रदर्शन कमजोर भइदिँदा बार्सिलोना कसरी अगाडि बढ्ने भन्नेमा प्रश्न उठेको छ । बार्सिलोनाको लागि बुस्क्वेट नहुँदाको डिफेन्समाथि गम्भीर प्रश्न उठेको हो ।

अपराजित यात्रा कायमै

बार्सिलोनाले खेल सकिन केही मिनेट मात्रै बाँकी छँदा २ गोल गरेपछि हार टारेर ला लिगामा लगातार ३७ खेलमा अपराजित रहेको छ । खेलमा बार्सिलोनाको त कमजोरी छँदैथियो सेभियाले पनि बार्सिलोनालाई परास्त गर्ने कयौं अवसरहरु खेर फाल्यो । अन्तिम समयमा सम्हालियर बार्सिलोना प्रस्तुत हुँदा बार्सिलोना ला लिगामा ३८ खेलसम्म अपराजित रहने रियल सोसिडाडको रेकर्डभन्दा मात्र १ खेल टाढा रहेको छ । सोसिडाड सन् १९७८–७९ देखि १९७९–८० मा ३८ मा अपराजित रहेको थियो ।

कोपा डेल रेको फाइनल बार्सिलोनाको लागि सहज नहुने संकेत

सेभिया र बार्सिलोना जारी सिजनको कोपा डेल रेको फाइनलमा उपाधिको लागि भिड्दैछन् । अप्रिल २१ मा वान्डा मेट्रो पोलिटानोमा हुने खेल बार्सिलोनाको लागि सहज नहुने संकेत सेभियाले देखाइसकेको छ । बार्सिलोनाको मिडफिल्ड र डिफेन्स लाइनलाई चुनौती दिने खेल सेभियाले पस्किसकेको छ ।

खेलमा कमब्याक गर्नसक्ने क्षमता

बार्सिलोनाले खेलमा समय सकिन लाग्दा २–० ले पछि परेको स्थितिलाई उल्ट्याएर बराबरी खेल्नुले बार्सिलोनासँग कमब्याक गर्नसक्ने क्षमता छ भन्ने प्रश्ट भएको छ । यो सिजन बार्सिलोनाले खेलमा पछि परेको स्थितिलाई उल्ट्याएर १७ अंक जोडेको छ । जारी सिजनमा अन्य कुनै ला लिगा क्लबले यतिका अंक जोड्न सकेको छैन ।

१ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा, यस्तो छ बिगत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here