बार्सिलोनाका खेलाडीहरुको अन्तराष्ट्रिय खेल कस्तो भयो ?

बार्सा नेपाल । शुक्रबार राति र शनिबार बिहान (नेपाली समय अनुसार) सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बार्सिलोनाका अधिकांश खेलाडीहरुको प्रदर्शन राम्रो रह्यो । १६ जना खेलाडीलाई अन्तराष्ट्रिय खेलको लागि बोलाइएकोमा केही खेलाडीले बिभिन्न कारणले खेल खेल्न पाएनन् ।

स्वारेजको ५० गोल

शुक्रबार राति सम्पन्न खेलमा यूरुग्वेका लुईस स्वारेजले देशको ५० गोल गरे । चेक रिपब्लिकलाई यूरुग्वेले २–० गोलले हराउँदा स्वारेजले खेलको १० औं मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिए । चाइना कप अन्तर्गतको उक्त खेलको ७९ औं मिनेटमा स्वारेजको बिकल्पमा अर्को खेलाडी पठाइएको थियो ।

अब यूरुग्वेले चाइना कपको अर्को खेल सोमबार वेल्ससँग खेल्नेछ ।

कोउटिन्हो र पाउलिन्होको गोल

विश्वकप २०१८ को आयोजक राष्ट्र रसियालाई ब्राजिलले हराउँदा बार्सिलोनका दुई खेलाडी कोउटिन्हो र पाउलिन्होले एक एक गोल गरे । पाउलिन्होले पहिलो हाफमा केही अवसरहरुलाई गोलमा परिणत गर्न सकेनन् । तर, खेलको ६१ औं मिनेटमा कोउटिन्होले पेनाल्टी मार्फत गोल गरे भने ६६ औं मिनेटमा पाउलिन्होले गोल गरे ।

इनियष्टाको एसिस्ट

बार्सिलोना तथा जमर्नीका गोलकिपर टेरस्टेगनले आफ्नै समकक्षीहरु आन्द्रेज इनियष्टा, जेरार्ड पिके तथा जोर्डी अल्बाको सामना गर्नुपर्यो । खेलको छैटौं मिनेटमा नै स्पेनले गोलको खाता खोल्यो रोड्रिगोले गरेको गोलमा इनियष्टाले सुन्दर पास उपलब्ध गराएका थिए । खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पिके चोटले असहज हुँदा हुँदै पनि खेल खेले ।
यारी मिनाको कोलम्बियाले फ्रान्सलाई पराजित गर्यो

कोलम्बियाको उत्कृष्ट कमब्याक

फ्रान्सले २–० गोलले अग्रता लिँदा लिँदै पनि कोलम्बियाले उत्कृष्ट कमब्याक गरेर ३–२ गोलको जित दर्ता गर्यो । यो जितबाट सबैभन्दा बढी कोलम्बियाका यारी मिना खुसी भए । तर, फ्रान्सका युम्टीटी, डिन्हे तथा डेम्बेलेको टिमलाई झट्का लाग्यो ।
युम्टीटीले पुरै खेल खेले, यारी मिना तथा डेम्बेलेले भने मात्र २४ मिनेट खेल्न पाए । त्यस्तै डिन्हेलाई खेलको अन्त्यतिर अवसर दिइएको थियो ।

आन्द्रे गोमेजको टिम विजयी

पोर्तुगलले इजिप्टलाई २–१ गोलले हरायो । उक्त खेलको ६२ औं मिनेटमा आन्द्रे गोमेज मैदान प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गरेपछि पोर्तुगलको टिमले राम्रो प्रदर्शन गरेको थियो ।

लियोनल मेसीले खेल्न पाएनन्

अर्जेन्टिनाले इटालीलाई २–० गोलले पराजित गर्दा लियोनल मेसीले खेल्न पाएनन् । उनी चोटको कारणले खेल गुमाएका हुन् । मंगलबार स्पेनसँग हुने खेल पनि मेसीले गुमाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here