दुबै लेगमा पीएसजीलाई परास्त गर्दै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बार्सा नेपाल, फागुन २३ । स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको बलियो भनिएको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समग्रमा ५–२ गोलले हराएर रियल मड्रिडले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियल ३–१ गोलले विजयी भएको थियो । त्यस्तै, मंगलबार राति भएको खेलमा पनि रियल मड्रिडले घरेलु टिम पीएसजीलाई २–१ गोलले पराजित गरेको हो । रियलको जितमा खेलको ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डो तथा ८० औं मिनेटमा कासेमेरोले गोल गरेका थिए ।

खेलको ६६ औं मिनेटमा मार्को भेराटी दोहोरो पँहेलो कार्डको शिकार हुँदै मैदान छोड्नुपर्यो । तै पनि खेलको ७१ औं मिनेटमा एडिसन काभानीले पीएसजीको लागि सान्त्वना गोल गरे ।

त्यस्तै, मंगलबार राति नै सम्पन्न अर्को खेलमा लिभरपुलले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ । एनफिल्डमा भएको खेल गोलरहित बराबरीमा सकिए पनि यसअघिको पहिलो लेगमा पार्तोलाई ५–० गोलले लिभरपुलले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here