नेयमारको सपनामा यसरी लाग्याे तुषारापात

बार्सा नेपाल । जारी सिजनको शुरुमै बार्सिलोनाबाट किर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेयमार मार्सेसँगको खेलमा घाइते हुँदा करिब तीन महिना मैदान बाहिरै रहने भएका छन् । नेयमार बार्सिलोनामा हुँदा एक चर्चित खेलाडी थिए । पीएसजी पुगेपछि उनको खेलस्तरमा त कमी आएको छैन तर उनी र सहकर्मीबीचको तालमेल राम्ररी मिलेको छैन । अझै लिग वान् को चर्चा विश्वभर त्यति हुने गरेको पनि छैन । सोही कारणले उनी पछाडि परेका छन् ।

पछिल्ला वर्षहरुमा लिग वान् को उपाधिको प्रमुख दावेदार पीएसजी नै रहेको छ । पीएसजीले एकोहोरो रुपमा लिगमा दवाव सृजना गरिरहेको छ । हालसम्म २८ खेल सम्पन्न हुँदा पीएसजीले ७४ अंक जोडेको छ । जबकी दोस्रो स्थानको मोनाकोको ६० अंक, तेस्रो स्थानको मार्सेको ५६ अंक चौथो स्थानको लियोनको ५१ अंक पाँचौं स्थानको रिनसको ४१ अंक रहेको छ । उत्कृष्ट पाँच टिम (हालसम्मको प्रदर्शन)ले जोडेको अंक हेर्दा लिगमा कस्ता कस्ता क्लबहरु रहेका छन् भन्ने थाहा हुन्छ ।

बार्सिलोनामा छँदा मेसीको छायाँमा परेको र बलोन डिओरको उपाधि पाउन नसकेको आशय व्यक्त गरेका उनले लिग वान् को उपाधि मात्रै जितेर बलोन डिओर जित्ने सम्भावना कम छ । तुलनात्मक रुपमा कमजोर लिगकाे कमजोर क्लबहरुविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकै आधारमा फुटबलको सर्वोत्कृष्ट अवार्ड पाइँदैन । त्यसको लागि देशको लागि पनि महत्वपूर्ण योगदान दिनु तथा च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्नु पनि हो । पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिडसँग समग्रमा ५–२* गोलको हार  (*सच्याइएकाे) व्यहोरेपछि त झनै नेयमारको सपना तुहिएको छ ।

नेयमार बार्सिलोनामा रहेका आफ्ना चर्चित सहकर्मीहरु लियोनल मेसी तथा लुईस स्वारेजलाई छाडेर अर्थात् (एमएसएन) को ट्रियोलाई ब्रेक गरेर पीएसजी जानुको पछाडि ५ वटा कारण सार्वजनिक भएको थियो ।

बार्सिलोनाबाट विङ्ग्सबाट मात्रै खेल्न पायो, प्रशिक्षकले उनलाई राजाइमा पारेनन् र मेसी मात्रै होइन स्वारेज पछिको खेलाडी बनियो भनेर उनी पीएसजीमा एकछत्र राज गर्न गएका हुन् । त्यस्तै, नेयमारका एजेन्ट उनकै पिता नेयमार सिनियरको लहैलहैमा लागेर राम्रो पैसा पाउने भन्दै उनी पीएजी पुगेका हुन् । अर्को महत्वपूर्ण कुरा त के भने उनी पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन गएका हुन् । तर, यो सिजन खराव प्रदर्शन गरिरहेको रियल मड्रिडले अन्तिम १६ मै थन्क्याइदिएपछि नेयमारको बलोन डिओर सपना पनि तुहिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here