ला लिगा र प्रिमियर लिग ‘योहान क्रफ’का चेलाहरुको कब्जामा

विवेक बिमली

बार्सा नेपाल, फागुन १२ । विश्वको सबैभन्दा बढी प्रतिष्ठित लिगहरु ला लिगा र प्रिमियर लिगमा फुटबलका हस्ती योहान क्रफका दुई चेलाहरुको टिमले शिर्ष स्थान कब्जा गरिरहेका छन् ।

ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाका प्रशिक्षक तथा प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाको टिमले यस सिजन फरक–फरक लिगमा स्तरिय प्रदर्शन गरिरहेका छन् । बार्सिलोनाले यो सिजन लिगमा कुनै पनि खेलमा पराजय ब्यहोर्नुपरेको छैन । लिगमा कुल २४ खेल खेल्दा बार्सिलोनाले १९ खेलमा जित तथा ५ खेलमा बराबरी खेलेर कुल ६२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा बार्सिलोना ७ अंकले माथि रहेको छ ।

त्यस्तै, प्रिमियर लिगको क्लब म्यान्चेस्टर सिटीले यो सिजन लिगमा १ वटा मात्रै पराजय ब्यहोरेको छ । कूल २७ खेल खेलेको सिटीले २३ खेलमा जित तथा ३ खेलमा मात्रै बराबरी खेलेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा सिटी १६ अंकले माथि रहेको छ । (समाचार तयार पार्दासम्मको आँकडा)

यी दुबै क्लबले घरेलु लिगमा लिइरहेको अग्रताले दोस्रो स्थानमा रहेका क्लबहरुलाई पछ्याउन निकै गाह्रो पर्ने देखिन्छ । त्यस्तै, च्याम्पियन्स लिगमा पनि दुबै क्लबको प्रदर्शन उच्च रहेको छ । दुबै टिमको प्रदर्शनको बारेमा बार्सिलोनाका हस्ती खेलाडी जाभी हर्नान्डेजले बार्सिलोना वा म्यान्चेस्टर सिटीमध्ये १ टिमले च्याम्पियन्स लिग जित्नसक्ने बताइसकेका छन् ।
यी दुबै प्रशिक्षकहरुले योहान क्रफको फुटबल मार्गदर्शन पछ्याएको देखिन्छ । त्यसैले सफल पनि भएका छन् ।

स्व. क्रफ नेदरल्याण्डका फुटबलर हुन् । उनी सन् १९७१, १९७३ तथा १९७४ का फिफा वर्ष खेलाडी समेत हुन् । साथै सफल फुटबल प्रशिक्षक पनि । उनको फुटबल प्रशिक्षण शैलीले आधुनिक फुटबलमा नयाँ क्रान्ती नै ल्याएको छ । त्यसैले त हरेक फुटबल प्रशिक्षक, खेलाडी तथा समर्थकहरुले उनको उच्च योगदानलाई मान्ने गरेका छन् ।

क्रफले सन् १९६४ देखि १९७३ सम्म नेदरल्याण्डको आईएक्सबाट खेले त्यसपछि उनी खेलाडीको रुपमा बार्सिलोना आएका हुन् । उनले बार्सिलोनामा खेलाडीको रुपमा ५ वर्ष बिताए ।

उनले सन् १९८५ बाट फुटबल प्रशिक्षकको भूमिका निभाए । ३ वर्ष आईएक्सको प्रशिक्षक भएपछि उनी बार्सिलोनामा आए । उनी बार्सिलोना आउनुभन्दा अगाडिसम्म क्लबको अवस्था निकै मध्यम रहेको थियो । तर, उनी आएपछि बार्सिलोनाको स्तरमा निकैक सुधार भयो । उनले ८ वर्षसम्म बार्सिलोना सम्हाले । सो समयमा नै अर्नेष्टो भालभर्डे तथा पेप ग्वार्डिवलालाई उनले प्रशिक्षण दिन भ्याए । भालभर्डे सन् १९८८ देखि १९९० सम्म बार्सिलोनाका खेलाडी थिए । त्यस्तै ग्वार्डिवलाले त झनै क्रफबाट लामो समय नैक प्रशिक्षण पाए । पेप सन् १९९० देखि २००१ सम्म बार्सिलोनाका खेलाडी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here