‘हेड टु हेड’मा बार्सिलोनाभन्दा चेल्सी अगाडि, प्रतिस्पर्धा रोचक हुने अनुमान

बार्सा नेपाल, फागुन ४ । बार्सिलोनाले बुधबार बेलुकी च्याम्पियसन्स लिगको अन्तिम १६ को पहिलो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्दैछ । हालसम्म चेल्सी र बार्सिलोना १२ पटक आमने समाने भएका छन् । जसमध्ये ४ खेलमा चेल्सीले तथा ३ खेलमा बार्सिलोनाले जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ । यी सबै खेलहरुमा दुबै टिमले १८/१८ गोल गरेका छन् ।

यी दुबै क्लबको अन्तिम भेट सन् २०१२ को च्याम्पियन्स लिगमा भएको हो । उक्त सिजनको च्याम्पियन्स लिग विजेता चेल्सीले बार्सिलोनालाई समग्र्मा ३–२ गोलले हराएको थियो । सो समयको पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा १–० को अग्रता लिएको थियो भने क्याम्प नाउमा भएको दोस्रो लेगमा २–२ को बराबरी खेलेको थियो ।

त्यस्तै, सन् २००९ मा बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधी जित्दा पनि यी दुबै टिम भेट भएका थिए । सो समयमा १–१ को नतिजा निस्के पनि बार्सिलोनाले अवे गोलको आधारमा चेल्सीलाई परास्त गरेको थियो । क्याम्प नाउमा भएको खेल गोल रहित बराबरीमा सकिएको थियो भने स्टामफोर्डमा सम्पन्न दोस्रो ले १–१ को बराबरीमा सकिए पनि अवे गोलको आधारमा बार्सिलोना अगाडि बढेको थियो ।

त्यस्तै, सन् २००६ मा भएको खेलमा बार्सिलोनालाई चेल्सीले परास्त गरेको थियो । क्याम्प नाउमा भएको खेल १–१ को बराबरीमा सकिएको थियो भने स्टामफोर्ड ब्रिजमा चेल्सीले १–० ले बार्सिलोनालाई परास्त गरेको थियो ।

यी दुई टिम पहिलो पटक सन् १९६६ को अप्रिल २६ मा फियर्स कपको लागि भिडेका थिए । सो खेलमा बार्सिलोना २–० गोलले विजयी भएको थियो भने सोही कपको दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले नै परास्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here