अपडेटः ग्वार्डिवलाको टिमले बाजललाई हरायो, आजको खेल झनै रोमाञ्चक

बार्सा नेपाल, फागुन २ । मंगलबार राति सम्पन्न युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले एफसी बाजललाई ४–० ले हराएको छ । स्वीस क्लब बाजलको मैदानमा सम्पन्न खेलमा सिटीको लागि गुण्डोगानले २ गोल गरे भने सर्जियो अगुइरो र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।

त्यस्तै, मंगलबार राति नै सम्पन्न अर्को खेलमा ईटालीको युभेन्टस र इङ्ल्यान्डको टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् । टुरिनमा सम्पन्न खेलमा घरेलु टोली युभेन्टसका गोन्जालो हिगुवानले सुरुवाती ९ मिनेटभित्र २ गोल गरे । तर पाहुना टोली टोटनह्यामका ह्यारी केन र क्रिश्चियन एरिक्सनले एक–एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

आज राति युरोपियन च्याम्पियिन्स लिगका थप दुई खेलहरु हुनेछन् । आजको खेलमा स्पेनको रियल मड्रिडले फ्रान्सको पीएसजीको सामना गर्नुपर्नेछ भने पोर्चुगलको एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल पनि एक आपसमा भिड्नेछन् ।

बार्सिलोनाले भने अर्को इंग्लिस क्लब चेल्सीसँग भिड्नुपर्नेछ । त्यस्तै अर्को हप्ता हुने खेलहरुमा जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास, स्पेनको सेभिया र इङ्ल्यान्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको ए.एस. रोमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here