के बार्सिलोनाले १०० अंक जोडेर ला लिगाको उपाधी रक्षा गर्ला ?

बार्सा नेपाल, फागुन २ । स्पेनिस घरेलु लिग ला लिगमा मात्रै होइन बार्सिलोना यूरोपको चर्चित ५ लिगमा एक मात्रै अपराजित टिम हो । ला लिगमा यो सिजन बार्सिलोनाले २३ खेल खेलिसकेको छ । २३ खेल खेल्दा ५ खेलमा बराबरी तथा १८ मा जित दर्ता गरि कूल ५९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले १ हार ७ बराबरी तथा १५ खेलमा जित दर्ता गरेर ५२ अंक जोडेको छ ।

लिगमा बार्सिलोनाले अब १५ खेल खेल्न बाँकी छ । यी सबै खेलमा जित दर्ता गर्न सकेको खण्डमा ४५ अंक जोड्न सक्छ । हाल रहेको ५९ अंक तथा ४५ अंक (सबैमा जित निस्केको खण्डमा) गरी कूल १०४ अंक हुन आउँछ । बार्सिलोनाको हालसम्मको खेल हेर्ने हो भने पक्कै पनि १०० अंक जोडेर लिग जित्न असम्भव जस्तो देखिदैन ।

तर, बार्सिलोनालाई त्यो उदेश्य हासिल गर्न सहज भने हुनेछैन । सिजनको उत्तरार्धमा हरेक लिग कठिन हुने गर्छ । कोही क्लब रेलिगेसनबाट बच्नको लागि अथक प्रयास गर्छन्, कोही उत्कृष्ट १० मा पर्न, कोही यूरोपा खेल्न त कोही च्याम्पियन्स लिग खेल्नको लागि मरिमेट्ने हुँदा अनपेक्षित नतिजा आउने गरेको उदाहरणहरु हेर्न गत वर्षको नतिजालाई हेरेमात्रै पर्याप्त हुन्छ ।

अर्को कुरा भनेको सिजनको उत्तरार्धमा बार्सिलोनाजस्तो टिमहरु बढी ‘प्रेसर’मा हुन्छन् । लिग मात्रै होइन, यूरोपियन च्याम्पियन्स लिग, कोपा डेल रे जस्ता खेलहरुले क्लब बढी दबाबमा आउँछ । सबै उपाधी जित्ने उदेश्य बोक्दा कुनै खेल बिग्रनु स्वभाविक हो ।

यद्यपी यो लक्ष्य बार्सिलोनाको लागि कठिन भने होइन । कोपा डेल रेमा फाइनलमा बार्सिलोना पुगिसकेको छ । लिगमा ७ अंकको अग्रता र च्याम्पियन्स लिगमा मात्रै अली बढी दबाब रहेको कारणले बार्सिलोनाको स्टार्टिङ लाइनअप र ब्याकअप हेर्दा त्यसले राहत दिने देखिन्छ ।

बार्सिलोनामा यस सिजन प्रभावशाली खेलाडीहरुलाई अनुबन्धन गरेको छ । जस्तो पाउलिन्हो, ओस्माने डेम्बेले, कोउटिन्हो, नेल्सन सेमेडो, यारी मिना । यी सबै खेलाडीको खेल प्रभावकारी देखिएको छ ।

त्यस्तै, क्लबमा अनुभवी खेलाडीहरु, इनियष्टा, मेसी, बुस्केट, पिके, जोर्डी अल्बा, स्वारेज, सर्जी रोबर्टो रहेको तथा अन्य खेलाडीहरु भालभर्डेको प्रशिक्षणबाट खुसी रहेको कारणबाट १०० अंक सहितको उपाधी जित्न असम्भव छैन ।

लिगमा अझै बार्सिलोनाले कडा टिमहरुसँग खेल्नै बाँकी नै छ । एथ्लेटिको मड्रिडसँग ४ मार्चमा, भ्यालेन्सियासँग १५ मार्चमा तथा रियल मड्रिडसँग ६ मेमा खेल खेल्न बाँकी नै छ । तर, यी तीनै खेल घरेलु मैदानमा हुने भएकोले बार्सालाई राहत मिल्नेछ । बार्सिलोनाले बाँकी १५ खेलमध्ये ८ खेल घरेलु मैदानमा तथा ७ खेलको लागि पाहुना बनेर जानुपर्नेछ ।

ला लिगामा सन् २०११ मा जोसे मउरिन्हो रियल मड्रिडको प्रशिक्षक हुँदा १०० अंक जोडेको थियो । तर, टिटो भिलानोभाले सम्हालेको बार्सिलोनाले पनि १०० अंक जोडेर उपाधी रक्षा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here