के बार्सा फ्यानहरुले नेयमारलाई गाली गर्न सुहाउँछ ?

शरद प्रधान

बार्सा नेपाल, माघ २२ । यसै सिजन बार्सिलोनालाई किर्तीमानी स्थानान्तरण रकम तिरेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) हानिएका नेयमारसँग अधिकांश बार्सा समर्थकहरु खुसी छैनन् । यसको कुराको औचित्य पुष्टी गर्न टाढा जान पर्दैन सामाजिक सञ्जालमा उनका बारेमा यतीसम्मका कुराहरु पोष्ट हुने गरेका छन् कि, बार्सिलोनाको जर्सीमा ५ वर्ष उत्रेर सन् २००० मा रियल मड्रिड हानिएका पोर्चुगलका खेलाडी लुईस फिगोसँग उनलाई तुलनासम्म गर्न थालिएको छ । यस्तो गतिविधिले फुटबल समर्थहरुबीच दुरी बढ्दै गएको उदाहरण तपाई हामीमाझ छर्लङ्ग छ । किनकी हिँजोसम्म बार्सा समर्थक बनेर एउटै प्लेटमा खानेहरुको भान्सा नै अलग भइसकेको छ । कोही ‘हामी कट्टर बार्सा समर्थक हौं’ भनेर हिडेका छन् भने कोही ‘नेयमारकै लागि पीएजी समर्थक’ बनेका छन् ।

कुनै क्लबको फ्यान हुनको लागि हालसम्म कुनै मापदण्ड बनेको छैन । बनेको छ केवल क्लबको सदस्यता लिनको लागि कडा मापदण्ड । अझै खेलाडीको समर्थन गर्नको लागि नत खेलाडी ले नै नत उनीहरुको एजेन्टले नै त्यस्तो रोकतोक लगाएको छ । भनाईको तात्पर्य के भने यो यस क्लबको फ्यान म यसको, यसको फ्यान भएपछि यो खेलाडीमा समर्थन गर्न मिल्दैन । त्यसैले यो प्लाष्टिक फ्यान म चाँही असली भन्न सुहाउँदैन । एउटै परिवारका सदस्यले पनि अलग–अलग क्लब तथा खेलाडीलाई समर्थन गरिरहेको हुन्छ । उदाहरणको लागि सन् २०१० देखि २०१३ सम्म रियल मड्रिडको प्रशिक्षक बनेका जोसे मोउरिन्होको छोरा जोसे मारियो मोउरिन्हो जुनियर काफी छन् । उनी बुबाले सम्हालेको क्लब होइन चिरप्रतिद्धन्दी क्लब बार्साका खेलाडी लियोनल मेसीको फ्यान हुन् । सिधा हिसावले सोच्ने हो भने त उनी रोनाल्डोको फ्यान हुनपर्ने होइन र ? मेसी समर्थन गरेको भनेर जोसेले उनका छोरालाई कुनै रोकतोक लगाएको समाचार हामीले कहिल्यै पढ्न सुन्न पाएका छौं त ?

पीएसजीसँग सानदार कमब्याक

नेयमारकै कुरा गर्ने हो भने उनलाई रियल मड्रिडले सान्तोसबाट भित्र्याउन अथक प्रयास गर्यो । बार्सिलोनाभन्दा करिब दोब्बर रकमको प्रस्ताव पनि आयो तै पनि उनी सन् २०१३ मा बार्सिलोना नै आए । बार्साको जर्सी लगाएर १२३ खेल खेल खेल्दा ६८ गोलको योगदान पनि गरे । बार्सिलोनामा उनी र स्वारेज आएपछि विश्वको चर्चित ‘अट्याकिङ्ग ट्रियो एमएसएन’ भनेर कहलियो । बार्साले पछिल्लो पटक च्याम्पियन्स लिग जित्दा उनी सबैभन्दा च्याम्पियन्स लिगमा सबैभन्दा उच्च गोलकर्ता पनि रहे । उनी बार्सामा आएपछि १० वटा महत्वपूर्ण उपाधीमध्ये ६ वटा बार्साको नाममा रह्यो । गत वर्षको च्याम्पियन्स लिगमा पीएसजीसँग उत्कृष्ट कमब्याक गर्दा नेयमारको योगदान अतुलनिय रह्यो । उनको खेलमा ब्राजिलको प्रख्यात साम्बा फुटबल शैलीको पनि झझल्को आउँछ । उनको क्षमता, कला, परिपक्वताकै कारणले कम उमेरमा ब्राजिलजस्तो देशको कप्तान समेत बने ।

नेयमार जे जस्तो कारणले पीएसजी गएको भए पनि उनको समस्या बार्साको बोर्डसँग रहेको प्रष्टै छ । नत उनले हालसम्म बार्सा फ्यान तथा उनका पूर्व सहकर्मीहरुको बारेमा पूर्वाग्रही बिचार राखेका छन् । मैले बार्साको समर्थक भएको करिब करिब २५ वर्षभन्दा माथि हुन लाग्यो तर, यसबीचमा मैले कुनै खेलाडी तथा क्लबप्रति पूर्वाग्राही भएर बिचार राखेको छैन । साथीभाईबीच भेटघाट हुँदा हुने अलग कुरा हो तर, आफ्नै धरातल बिर्सिएर अरुलाई गाली गर्नु जायज हो भन्ने मलाई लाग्दैन । मलाई के लाग्छ भने कसैको बारेमा आलोचना गर्नु ठिक हो तर, त्यो आलोचना पनि कतिसम्म गर्ने भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन ।

हिजोसम्म ब्राजिलका हिरा भन्नेहरुले पनि आज नेयमारलाई फिगोको दर्जा दिनु कतिको जायज हो त ? अहिले के कुरा हामीले बिर्सनु हुँदैन भने नेयमारको प्रस्थानले बार्सिलोनाको लय गुमेको छैन । अझ सुधारिएको छ । उता नेयमारले पनि पीएसजीमा सानदार प्रदर्शन गरिरहेका छन् । एक असल शुभचिन्तक भएर पो सोच्ने की ?

लेखक प्रधान पेशाले व्यवसायी हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here