फिलिप कोउटिन्होको बार्सा प्रवेशले टिममा कस्तो प्रभाव पर्ला ? (विश्लेषण)

प्रकाश ढकाल

जनावरी ६ मा बार्सिलोनाले १६० मिलियन यूरो खर्चेर क्लबमा भित्र्याएको ब्रालिलियन खेलाडी फिलिप कोउटिन्होको पहिलो खेल कहिले होला भनेर बार्सा समर्थक मात्रै होइनन् फुटबललाई माया गर्ने धेरैको चासोको विषय बनेको थियाे । अन्ततः त्याे समय अाएकाे छ । उनी घरेलु प्रतिद्धन्दी इस्पयानियोल बिरुद्ध सम्भवत आज बार्सिलोनाको जर्सीमा उत्रदैछन् ।  बार्सिलोनाले यस सिजनको शुरुवातमै किन्ने भने पछि बार्सिलोना र कोउटिन्होको चर्चा शुरु भएको हो । क्लबले भित्र्याएर स्थिति साम्य भएको छैन किनकी किर्तिमानी मूल्यमा किनेको उनको खेलको स्तर कस्तो होला ? बार्साको शैली अपनाउन सक्लान् ? लिभरपुलमा कायम गरेको छवी कायम नै होला ? भन्ने यावत प्रश्नहरु उठरहेको छ ।

यहाँ हामीले कोउटिन्होको बारेमा एउटा सामग्री तयार पारेका छौं ।

कोउटिन्होको बिगतः

लेखक प्रकाश ढकाल, हाल जापानमा

कोउटिन्होलाई सन् २०१० को जुलाईमा तत्कालिन इन्टर मिलानका प्रशिक्षक राफेल बेनिटेजकोले खेलमा डेब्यू गराएका हुन् । इन्टरमा रहँदा कोउटिन्होको प्रदर्शन तारिफयोग्य थिएन । त्यसैकारण उनलाई लोनमा ला लिगाको क्लब इस्प्यानियोल पठाइएको थियो । सो समयमा हालका टोटनहमका प्रशिक्षक मौरिसियो पोचेटिन्होले इस्प्यानियोल सम्हालीरहेका थिए । इस्प्यानियोलमा उनले १ सिजनमा १६ खेल मात्रै खेल्न पाए र ५ गोल र २ एसिस्टको योगदान पनि गरे । कम अवसर पाएका उनको प्रदर्शन तारिफयोग्य नै थियो । त्यसपछि उनीमाथि लिभरपुलको आँखा परेको हो । लिभरपुलबाट उनले करिब ६ सिजन खेल्दा ४१ गोल २१ एसिस्ट मात्रै गरेका छन् । तर, गोल र एसिस्टमात्रै गणना गर्ने होइन उनको खेल्ने क्षमता पनि त्यसमा जोड्ने हो भने राम्रो अंक उनले पाउँछन् ।

बार्सिलोना र मिडफिल्डः

बार्सिलोनाको चिनारी ‘ला मासिया’ पनि एक हो । यसले विशेष गरेर उच्चस्तरिय मिडफिल्डर क्लबलाई दिएको छ । योहान क्रुफको ‘टिकीटाका’मा पेप ग्वार्डिवला, जाभी हर्नान्डेज, सर्जियो बुस्केट, इनियष्टा लगायतले मिडफिल्डमा नयाँ परिचय पाए । यसै शैलीले चर्चा मात्रै होइन इतिहाँस रचेर एकै सिजनमा सबै उपाधी जितेको छ । हालसम्म यूरोपका चर्चित पाँच लिगका क्लबले यस्तो नतिजा ल्याउन सकेका छैनन् ।

त्यस्तै, अन्य क्लबबाट बार्सिलोना आएका खेलाडीहरुको योगदान पनि कम छैन । म्याराडोना, लाउड्रौप, लुईस इन्रिके, डेकोर, रोनाल्डिन्हो लगाएतले पनि बार्सा फुटबलमा छापा छोडेर गए । अब यस्तै, अझै भनौ त्यो भन्दा बढी आशा कोटिन्होबाट छ ।

चुनौतीः

कोउटिन्हो धेरै नै घाइते हुने खेलाडीमा पर्छन् । खेल्ने शैली राम्रो हुँदा हुँदै पनि चोटग्रस्त बन्नुपर्दा उनको अझै असली रुप कसैले देख्न पाएका छैनन् । अझै ला लिगामा केही टिमले ‘फिजिकल’ खेल खेल्ने गर्छन् त्यस्तो अवस्थामा उनको अवस्थामा उनी कसरी सम्हालिन्छन् त्यो समयले नै देखाउनेछ । तर, बार्सिलोना फिजिकल खेलमा भन्दा पनि प्राविधिक खेलमा जोड दिने टिम भएकोले उनको बार्सिलोना बसाई सुखद हुने अनुमान लगाउन सकिन्छ ।

बार्सिलोनामा किन काउटिन्हो ?

जाभी हर्नान्डेजले सन् २०१४/१५ को सिजन खेलेर बार्सिलोनाबाट बाहिरिएपछि साँचै एउटा परिचय पाएको मिडफिल्ड धरासयी बन्न पुग्यो । सो समयमा मिडफिल्डलाई जाभी, इनियष्टा तथा बुस्केटले धानेर बसिरहेका थिए । तर, उनी बार्सिलोनाबाट कतारतिर लागेपछि बार्सिलोनाले बिकल्प नै पाउन सकेन । त्यसपछि डिफेन्डर ड्यानी आल्भेजले पनि बार्सिलोना छोडेपछि त झनै स्थिति नाजुकजस्तै भयो । खेलमा बार्सिलोनाको पक्षमा नतिजा आउनु आफ्नो ठाउँमा छ तर, किडफिल्डको परिचय नै गुम्ने खतरा भइसकेपछि बार्सिलोना संकटमा पर्यो । सो समयका प्रशिक्षक लुईस इन्रिकेले इनियष्टालाई पनि कम मौका दिनु, केही हदसम्म जाभीको ठाउँ लिन सक्छ कि भनेर ल्याएका पोर्चुगिज आन्द्रे गोमेजले राम्रो खेल खेल्न नसक्नु, राफिन्हा पनि चोटग्रस्त हुनु, राकेटिचको प्रदर्शन एकनासको नहुनुले थप समस्या निम्त्यायो । सो स्थितिलाई सम्हाल्नको लागि लियोनल मेसी अग्रभागबाट होइन मिडमा झरेर खेल्नुपर्ने अवस्था पनि आयो ।

सम्भावित लाइन अप

यो सिजन सँधै आलोचना हुने बार्सिलोनाको रक्षापंत्ति बलियो रहेको छ । मिडफिल्डलाई बुस्केट, सर्जी रोबर्टो, इनियष्टा, पाउलिन्हो, गोमेज, राकेटिचले धानेर बसेका छन् । जसोतसो चलिरहेको मिडफिल्डलाई ‘फिक्स’ गर्ने बिकल्प कोउटिन्हो नै हो । लिभरपुलको स्तर मात्रै बार्सिलोनामा देखायो भने उनको खेलस्तर पनि बढ्छ । साथै बार्सिलोनाको टिम गेम पनि राम्रो भएर आउँछ ।

कोउटिन्होको उपस्थितिले बार्साको मिडफिल्डमा त्रिकोणिय पास, ड्रिबलिङ, लङरेन्ज सट, थ्रोइङ तथा सेट पिस पनि राम्रो हुने अपेक्षा छ । खेलाडीहरुले अझै खुलेर खेल्न सक्छन् भन्ने विश्वास फुटबल समर्थकहरुले लिएका छन् ।

तर, प्रशिक्षक अर्नेष्टो भालभर्डेले उनलाई कुन स्थानबाट खेलाउँछन् भन्ने कुरा अर्को चासोको विषय बनेको छ । यसको लागि बार्सा समर्थकले धेरै समय कुर्नुपर्ने छैन । उनी चोटमुक्त हुने क्रममा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here