रियल मड्रिडमा संकट आउनुको ९ कारण यस्तो (तपाई पनि जान्नुहोस्)

माघ १ । यो सिजन रियल मड्रिड फर्ममा छैन, यो सबैले देखिरहेको कुरा हो । च्याम्पियन्स लिगमा रनर अप भएर अन्तिम १६ मा आउनु, ला लिगमामा १८ खेल खेल्दा जम्मा ३२ अंक मात्रै जोड्नुले रियल साँचै संकटमा परेको देखाउँछ । आखिर किन रियल पछाडि परिरहेको छ त ? यहाँ हामीले एएसका खेल विश्लेषक इडु हेरेरोले उल्लेख गरेको रियल मड्रिडमा संकट आउनुको ९ कारण प्रस्तुत गरेका छौं ।

१. बेर्नाबेउमा अंक गुमाउनु

यस सिजन रियल मड्रिडले आफ्नै घरेलु मैदानमै टन्नै अंक गुमाएको छ । यदि घरेलु मैदानकै मात्र अंक गनिने हो भने मड्रिडको लिगको छैटौं स्थानमा हुने थियो । मड्रिडले यस सिजन बेर्नाबेउमा जम्मा ५ खेलमा जित, २ मा बराबरी तथा ३ खेलमा हार व्यहोरेको छ ।

२. स्ट्राइकरको खडेरी

रियल मड्रिडको इतिहासमा अहिलेसम्म १८ खेल सकिँदा मुख्य स्ट्राइकरले जम्मा ४ गोल मात्रै हानेको यो पहिलो पटक हो । रोनाल्डो सहित, बेल, इस्को र मार्को एसेन्सियोले ४–४ गोल हानेका छन् । करिम बेन्जेमाले त जम्मा २ गोल मात्रै हानेका छन् ।

३. ग्यारेथ बेल घाइते हुनु

रियल मड्रिडले यस सिजनको झण्डै आधा खेलमा ग्यारेथ बेललाई गुमाउनुपर्यो । टोलीको अभिन्न अंग बनेको बेल घाइते हुँदा अग्रपंत्ति कमजोर हुन पुग्यो । बेलले ९ ला लिग खेल्नै पाएनन् । ८ खेलमध्ये पाँच खेलमा पनि बैकल्पिक खेलाडीको रुपमा प्रस्तुत भए ।

४. सुस्ताएको मार्सेलो

अघिल्लो सिजनसम्म अत्यान्त राम्रो खेल खेलेका मार्सेलो यस सिजन सुस्ताएका छन् । मार्सेलोको बिकल्पमा थियो हर्नान्डेज भए पनि उनी पनि सो स्थानमा फिट नहुने शंकाले पहिलो रोजाइमा पर्न सकेका छैनन् ।

५. जिदानलाई मतलब नै छैन

अन्य क्लबहरुले प्रभावशाली खेलाडीहरु भित्र्याइरहेको अवस्थामा जिदान आफ्ना पुरानै खेलाडीहरुको आशमा बसिरहेका छन् । उनले जनावरी ट्रान्सफर मार्केटलाई पनि उति चासो दिएका छैनन् ।

६. सामान्य खेलाडीहरु भित्र्याउनु

यस सिजनको समर ट्रान्सफर विन्डोमा मड्रिडले केही खेलाडीहरु त भित्र्यायो तर, तिनीहरुको स्तर बढ्न सकिरहेको छैन । आधा सिजन सकिनै लाग्दा थियो हर्नान्डेज (७१३ मिनेट), जेसस भलजो (४४९ मिनेट) मार्कोस लोरेन्टे (५२८ मिनेट) तथा बोर्जा मेयोरलले (५२७ मिनेट) मात्रै खेल्न पाएका छन् । यी खेलाडीहरु समरमा बेचेको खेलाडीहरु पेपे, हामेस रोड्रिगेज तथा अल्भारो मोराटाको स्तरजस्तो पनि छैनन् ।

७. अन्तिम समयमा गोल खानु

गत सिजन रियल मड्रिडले अन्तिम समयतिर गोल हानेर अंकक मात्रै जोडेन उपाधी पनि जित्यो । तर, यो सिजन ठ्याक्कै उल्टो भएको छ । मड्रिडले खेलको अन्तिम समयमा गोल खाँदा धेरै अंक गुमाउनु परेको छ । मड्रिडले यो सिजन ८६ मिनेट पछि एक गोल पनि हानेको छैन ।

८. एल क्लासिको

घरेलु मैदानमै आएर चिरप्रतिद्धन्दी बार्सिलोनाले ३–० गोलको हार चखाएर गएपछि मड्रिड टिमको मनोवल गिरेको पाइएको छ ।

९. ध्यान सुपरकपमा

रियल मड्रिडले प्रि सिजनमै म्यान्चेस्टर युनाइटेडलाई हराएर यूरोपियन सुपरकप जित्यो भने बार्सिलोनालाई हराएर स्पेनिस सुपर कप जित्यो । प्रि सिजनमा टिमको ध्यान कपतिर रहेको हुँदा टिम र लिगको योजना नै डामाडोल बन्यो । प्रि सिजनमा बनाउनुपर्ने योजनाहरु कार्यान्वयनमा आउन सकेन फलस्वरुप मड्रिडको स्तर खस्कियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here