११ वर्षपछि एनोइटाको रेकर्ड उल्टियो, बार्सिलोनाको ‘कमब्याक विन’

माघ १ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले रियल सोसिडाडको घरेलु मैदान एनोइटामा ११ वर्ष पुरानो रेकर्ड ब्रेक गरेको छ ।

सन् २००७ देखि ला लिगाको कुनै पनि खेलमा जित हासिल गर्न नसकेको बार्सिलोनाले सोमबार बिहान सम्पन्न खेलमा सोसिडाडालाई ४–२ गोलले पराजित गरेको हो ।

खेलको शुरुमा घरेलु टोलीले डबल अग्रता लिएको थियोे । खेलको ११ औं मिनेटमा जाभियर प्रिटोको पासमा जोसे विलियनले गोल गरे । त्यस्तै, ३४ औं मिनेटमा सर्जियो कानालेजको पासमा जुवान्मीले गोल गरे ।

तर, बार्सिलोनाले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँन आत्मबल बढायो । खेलको ३९ औं मिनेटमा लुईस स्वारेजको पासमा पाउलिन्होले गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको बार्सिलोना दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भयो । खेलको ५० औं मिनेटमा लियोनल मेसीको पासमा स्वारेजले गोल गरे । बार्सिलोना बराबरीमा सीमित भएन । खेलकोे ७१ औं मिनेटमा थामास भर्मालिनको पासमा स्वारेजले अर्को गोल गरे । त्यस्तै, ८५ औं मिनेटमा मेसीले अर्को गोल गरेपछि बार्सिलोनाको जित निश्चित भएको हो ।

यो जित यसअर्थमा महत्वपूर्ण छ की, एनोइटामा पेप ग्वार्डिवला, टिटो भिलानोभा, टाटा मार्टिनो, लुईस इन्रिके कुनै पनि प्रशिक्षकले ला लिगामा जित निकाल्न सकेका थिएनन् ।

जितसँगै बार्सिलोनाले १९ खेलबाट ५१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४२ अंक तथा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको ४० अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here