पोर्चुगिज गोमेजलाई भालभर्डेले काखी च्याप्दा डेनिस स्वारेज क्लब छोड्ने मुडमा

पुस २९ । भ्यालेन्सियाबाट सन् २०१६ मा बार्सिलोना आएका पोर्चुगिज आन्द्रे गोमेजले यस सिजन बार्सिलोना छोड्ने सम्भावना लगभग टरेको समाचारहरुमा उल्लेख छ । बार्सा समर्थकहरुले उनलाई खासै नरुचाए पनि प्रशिक्षक अर्नेष्टो भालभर्डेको रोजाइमा उनी पर्ने गरेका छन् ।

मिडफिल्डर गोमेजले बार्सिलोनाबाट आर्दा टुरानलेभन्दा बढी खेल खेल्न पाएका छन् । उनले हालसम्म बार्साबाट ४० खेल खेलिसकेका छन् । बार्सिलोनाले पाउलिन्हो, कोउटिन्होजस्ता मिडफिल्डर किनेपछि बार्सा बोर्डलाई क्लब छोड्ने बताएका थिए । तर, भालभर्डेसँग नजिक रहेका उनको राम्रो बचाउ भइरहेको छ । खेलपछि प्रशिक्षक भालभर्डेले राम्रो खेले पनि नराम्रो खेले पनि गोमेजको तारिफ गर्ने गरेका छन् । गोमेजलाई भालभर्डेले बिभिन्न स्थानबाट खेल्ने अवसर पनि दिइरहेका छन् । शुक्रबार सम्पन्न सेल्टा भिगोसँगको खेलमा गोमेज फरवार्डकोे रुपमा उत्रेका थिए ।

गोमेजको बचाउ भलभर्डेले गर्दा बार्सिलोना ‘बी’ बाट आएका डेनिस स्वारेज चेपुवामा परेका छन् । मिडफिल्डर डेनिस स्वारेजको खेल धेरै बार्सा समर्थकलाई मनपर्छ । ‘नेक्स्ट जाभी’ को रुपमा हेरिएको डेनिस स्वारेजको खेल साँच्चै बार्साको खेलसँग मिल्छ । तर, उनी क्लब छोड्ने सोचमा छन् । भिलारियलबाट सन् २०१६ मा बार्सा आएका उनले जम्मा ३६ खेल खेलेका छन् । ३ गोलको योगदान पनि गरेका छन् । उनी नापोली वा टोटनहम जाने मनस्थितिमा छन् ।

बार्सिलोनामा कप्तान इनियष्टा, बुस्केट, इभान राकेटिच, पाउलिन्हो, कोउटिन्हो लगायत मडिफिल्डर रहेका छन् । यतिका मिडफिल्डरबीच अवसर खोज्दा करियर नै बर्बाद हुने डरले उनी क्लब छोड्न लागेको समाचारहरुमा उल्लेख छ ।

यस सिजन क्लब छोड्ने मनस्थिति बनाएका अन्य खेलाडीहरुमा जाभियर मास्चेरानो, एलेक्स भिडाल, राफिन्हा, आर्दा टुरान, जेरार्ड ड्यौलोफ्यु पनि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here