आज बार्सिलोना र लेभान्टे भिड्दै (विश्लेषण सहित)

पुस २३ । बार्सिलोनाले आज नेपाली समयअनुसार बेलुकी ९ बजे घरेलु लिगको १८ औं खेल लेभान्टेसँग खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा हुन लागेको खेलमा बार्सिलोनाको लागि मात्रै होइन पाहुना टोली लेभान्टेको लागि पनि महत्वपूर्ण छ । लिगमा १७ खेल खेलेर १८ अंक मात्रै जोडेको लेभान्टे लिगको १६ औं स्थानमा छ । करिब–करिब रेलिगेसन जोनको नजिक रहेको कारणले गर्दा आजको खेलमा लेभान्टे कम गोलअन्तरको जित या बराबरीको लागि क्याम्प नाउमा आउनेछ । बार्सिलोनाले पनि आफूभन्दा पछि रहेका क्लबसँगको अंकदुरी कायमै राख्नको लागि यो खेल महत्वपूर्ण छ ।

अन्तिम ५ खेलको तुलना

बार्सिलोनाः

बार्सिलोना अन्तिम ५ खेलमा ४ मा जित तथा १ मा बराबरी खेलेको छ । बार्सिलोनाले कोपा डेल रेको पहिलो लेगमा सेल्टासँग १–१ को बराबरी खेलेको हो । त्यसभन्दा पछाडिको सबै खेलमा बार्सिलोनाले क्लिन सिट राखेर विजय हासिल गरेको छ । बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले, डिर्पोटिभो ला कोरुनालाई ४–० ले, भिलारियललाई २–० ले तथा स्पोर्टिङलाई २–० ले हराएको छ । यी खेलहरुलाई हेर्ने हो भने बार्सिलोना बलियो टिम हो । लेभान्टेसँगको खेल घरेलु मैदानमा हुने भएको कारणले गर्दा बार्सिलोनालाई अझै फाइदा छ ।

लेभान्टेः

अन्तिम ५ खेलमा लेभान्टेले १ खेलमा जित ३ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको छ । लेभान्टेले क्याटालोनियाकै क्लब इस्प्यानियोललाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो भने लेगानेस, सेभिल्ला तथा मालागासँग गोलरहित बराबरी खेलेर कम्तीमा १ अंक जोडेको छ । लेभान्टेले अन्तिम ५ खेलमा एथ्लेटिक क्लबसँग मात्रै हार व्यहोरेको हो । त्यो पनि १–२ को हार । लेभान्टेको अन्तिम ५ खेललाई हेर्दा निकै कम गोल खाएको छ । यस अर्थमा बार्सिलोनाको लागि लेभान्टे कमजोर टिम पक्कै होइन ।

यस सिजन लिगमा अपराजित रहेको बार्सिलोनाको लागि भने कमजोर टिम लेभान्टेसँग ३ अंक जोड्नैपर्नेछ । पाहुना टोलीलाई हराउन सकेको खण्डमा बार्सिलोनाले १८ खेलबाट ४८ अंक जोड्नेछ ।

लेभान्टेका प्रशिक्षकः

लिगको १६ औं स्थानमा भए पनि लेभान्टेले यससिजन कम गोल खाएको छ । कतिपय महत्वपूर्ण खेलहरुमा क्लिन सिटसम्म राखेको छ । यसको श्रेय लेभान्टेका प्रशिक्षक जुआन म्युनिजलाई जान्छ । ४९ वषीर्य म्युनिजलाई अघिल्लो सिजन लेभान्टेले प्रशिक्षकमा नियुक्त गरेको हो । यसभन्दा अघि उनले मालागा, अल्क्रोन, मार्बेला लगायतको क्लब सम्हालीसकेका छन् । उनले व्यवसायिक फुटबल सेन्टर ब्याक पोजिसनबाट खेले सोही कारणले हुनसक्छ उनी बलियो टिमसँग डिफेन्सिभ फुटबल खेल्न रुचाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here