सेल्टाबिरुद्ध गोल गरेर आर्नाइजले राखे किर्तिमानी

पुस २१ । स्पेनिस कप अर्थात ‘कोपा डेल रे’ को अन्तिम १६ को पहिलो लेगको खेलमा सेल्टा डी भिगोविरुद्ध ‘अवे’ गोल गर्ने बार्सिलोनाका युवा खेलाडी जोसे आर्नाइजले अनौठो किर्तिमानी कायम गरेका छन् ।

पहिलो रोजाइका मेसी, स्वारेज लगायतका खेलाडीबिना मैदानमा उत्रेको बार्सिलोनाले सेल्टा बिरुद्ध १५ औं मिनेटमा गोल गरेको थियो । आन्द्रे गोमेजको पासमा आर्नाइजले गोल गरेका थिए । बार्सिलोनाको लागि आर्नाइजको यो पहिलो गोल भने होइन । प्रायः कप तथा मैत्रिपूर्ण खेलको लागि टिममा पर्ने आर्नाइजले यसअघि रियल मुर्सिया बिरुद्धको दुबै लेगमा पनि गोल गरिसकेका छन् । बिहीबार रातिको गोलसँगै उनले सिनियर टिमको लागि पहिलो तिन सटलाई नै गोलमा परिणत गरेर किर्तिमानी कायम गरेका हुन् ।

‘बार्सिलोना बी’बाट व्यवसायिक फुटबल खेल्दै आएका आर्नाइज यस सिजनको सबै कोपा डेल रे कपमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको रोजाइमा परेका छन् ।

आर्नाइज यसै सिजन रियल भालाडोइडबाट बार्सिलोनामा आबद्ध भएका हुन् । उनले बी टिमको लागि ६ गोल समेत गरिसकेका छन् । उमेरले २२ वर्षीय आर्नाइज स्पेनी मुलकै नागरिक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here